बाढी-पहिरो अपडेट : मृतकको संख्या १०१ पुग्यो, ४१ जना बेपत्ता

झापा,५ कार्तिक । सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ।

बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको हो।
साथै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन्।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन्। ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।

१ सय ३९ वटा पशु चौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १ सय ७७ वटा घर परिवार विस्थापित भएका छन्।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा सुरक्षाकर्मीले गरिरहेका छन्। विभिन्न स्थानमा भएको सडक अवरोध खुलाउने कार्य पनि भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.