उदयपुर,३ कार्तिक । मोटरसाइकल दुर्घटना हुँदा उदयपुरको कटारीमा एक किशोरको मृत्यु भएको छ भने एक जना गंभीर घाईते भएका छन् ।गएराति ११ बजे कटारीबाट सिन्धुली जाँदै गरेको बागमती प्रदेश ०२–०५४ प ६९९० नम्बरको मोटरसाइकल ककरु खेला नजिकै ओभरस्पिडका कारण अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा सवार कटारी–४ का १६ वर्षीय सम्राट खड्काको ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
दुर्घटनामा पछाडि सवार सोही स्थान बस्ने १८ वर्षीय राजमणि कटुवाल गंभीर घाईते भएका इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईंले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार दुवैको अवस्था गम्भीर भएकाले तत्काल प्रादेशिक अस्पताल कटारीमा ल्याएर उपचार गर्ने क्रममा खड्काको कटारी अस्पतालमा नै मृत्यु भएको र अर्का कटवालको थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा पठाइएको प्रहरीले बताएको छ । खड्काको शवपरीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको इप्रका कटारीको भनाइ छ ।