इलाम,२ कार्तिक । गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग सञ्चालनमा आएको छ ।सो राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड मर्मत सम्भारपश्चात शनिवार राति ९ः०० बजेदेखि सवारी सञ्चालनका लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।
सडक डिभिजन कार्यालय इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको लगातार दुई साताको प्रयासपछि सडक खुलाउन सफल भइएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए । उनका अनुसार पहिरो पन्छाउन कार्यालयले छ वटा एक्स्काभेटर, एक जेसिबी, छ वटा टिफर र दुई वटा लोडर परिचालन गरेको थियो ।
‘निकै ठुलो पहिरो खस्नाका साथै दिनहुँ भासिने समस्याले हामीलाई पहिरो पन्छाउन समय लाग्नुका साथै सास्ती पनि भयो’, डिभिजन प्रमुख भट्टराईले भने, ‘निरन्तरको प्रयासले सडक खुलाउन सफल भएका छौँ, पहिरो क्षेत्रमा ठुला सवारीहरू एक पटकमा एउटा मात्र सञ्चालन गरेर सहयोग गरिदिन सरोकार भएका सबैलाई अनुरोध गर्दछौँ ।’
राजमार्ग सञ्चालन भएपछि इलामसहित, पाँचथर र ताप्लेजुङबाट झापा जान तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ आउने यात्रु तथा सवारीलाई सहज भएको प्रमुख भट्टराईले बताए । मेची राजमार्ग अवरुद्ध हुँदा यसअघि साना सवारीसाधनका लागि वैकल्पिक मार्गका रूपमा बुधवारदेखि तिल्केनी–सिमलगोलाई सडक खण्ड सञ्चालन गरिएको थियो ।
सो सडक खण्डअन्तर्गत माईजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी ‘डाइभर्सन’ निर्माण गरेर सडक सञ्चालन गरिएको उनले जानकारी दिए ।
वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक) भने अझै सञ्चालनमा आउन सकेको छैन । सो सडकअन्तर्गत पुवाखोला खोलाको बेलिब्रिज बाढीले बगाउनाका साथै बेलासेस्थित माई खोलाको पक्की पुल भाँचिएपछि हालसम्म अवरुद्ध छ ।
फुङलिङ–मित्लुङ सडकमार्ग सञ्चालनमा
ताप्लेजुङको सदरमुकाम फुङलिङबाट टुक्रे–हाङदेवा हुँदै मित्लुङ जोड्ने सडकमार्ग सञ्चालनमा आएको छ । संविधान सभा सदस्य तथा हाङदेवावासी सञ्चपाल मादेनका अनुसार तमोर मेवा जलविद्युत् आयोजनाको सहयोगमा आजदेखि उक्त सडकमार्ग सञ्चालनमा ल्याइएको हो ।
बर्खायाम सुरु भएसँगै ठाउँठाउँमा झरेको पहिरोका कारण यो सडक अवरुद्ध रहेको थियो । यातायातका साधन बहानन्दे हान्द्रुङ घुम्नुपर्ने बाध्यतामा थिए ।
शनिवारबाट यही मार्ग भएर यातायात सञ्चालनमा ल्याइएको मादेनले जानकारी दिए । अरु निकायले बेवास्ता गरेपछि आफूलगायत समुदायले गरेको अनुरोधलाई तमोर मेवाले ग्रहण गरेर सडक खुलाइदिएको मादेनले बताएका छन् ।
सदरमुकामबाट उत्तरी क्षेत्र जोडिने यो सडक निकै छोटो रहेको छ । यो सडकमार्ग भएर फक्ताङलुङ गाउँपालिका केन्द्र तापेथोक लेलेप ओलाङचुङ गोला हुँदै नेपाल–चीन सीमा टिप्ताला भञ्ज्याङ पुगिन्छ । लेलेपदेखि ओलाङचुङ गोला सडक भने अझै अवरुद्ध छ ।