पथरी सडक खण्डमा ६ लेन सहित सडकको दुवैपट्टि पक्की ढल र फुटपाथ निर्माण गर्न माग

-छविराज ढकाल
पथरीशनिश्चरे, ३ कार्तिक । एसियन हाइवे अन्तर्गतको पथरी सडक खण्डमा अब बन्ने ६ लेन सहितको सडकको दुवैपट्टि पक्की ढल तथा फुटपाथ निर्माण हुनुपर्ने माग गरिएको छ।
आज शनिबार पथरी उद्योग वाणिज्य सङ्घको समन्वयमा आयोजित पथरीमा सर्वपक्षीय तथा सर्वदलीय विमर्श कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले त्यस्तो माग गरेका हुन्।
कार्यक्रमका अधिकांश वक्ताहरुले हाल निर्माण भैरहेको एसियन हाइवे अन्तर्गतको पथरी शनिश्चरे नगरपालिकाको क्षेत्रमा पर्ने सेल्फी रोडदेखि जिरीखिम्ती सम्मको करिब ४ किलोमिटर सडक खण्डमा अब बन्ने ६ लेन सहितको सडक ३३ मिटर हुनुपर्ने , सडकको दायाँबायाँ पक्की ढलको निर्माण हुनुपर्ने र ढलमाथि फुटपाथको व्यवस्था समेत गरिनुपर्ने भन्दै सडक निर्माण कम्पनीसित माग गरेका थिए। उनीहरूले यस विषयमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो तथा अन्य वडा प्रतिनिधिहरूसित भोलि नै सर्वदलीय बैठक बसी साझा धारणा बनाई सोहि हाइवे निर्माण कम्पनीको दमकस्थित अफीसमा अबिलम्ब डेलिगेसन जाने समेत सहमति भएको थियो। सोही कार्यक्रम मार्फत भोलि आइतबार नै पथरी शनिश्चरे नगरपालिकाका प्रमुख सहित वडाहरूका अन्य जनप्रतिनिधिहरूको संयुक्त छलफल र बैठक बसी साझा धारणा बनाएर सो सडक निर्माण कम्पनीको अफिसमा जाने निर्णय भएको थियो।
सो कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष भीम कुमार राई, वडा नम्बर ३ का विजय लिम्बू, वडा नम्बर ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा नम्बर ९ का वडाध्यक्ष वीरबहादुर राई, पूर्व मेयर दिलिप कुमार राई, एमालेका नगर अध्यक्ष रमेश दाहाल, नेपाली कांग्रेसका नगर सभापति रूपनारायण भट्टराई, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष तुलसी ढकाल, लगायतले आआफ्ना भनाइ राखेका थिए। पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष चेतन खड्का, वडा नम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद बस्नेत, वडा नं ७ का वडाध्यक्ष उद्धवराज बस्नेत , नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका पञ्चायत माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटा, पथरी उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष लोकनाथ खरेल , संघकी सञ्चालक समिति सदस्य राधा ढकाल, सो हाइवेले सोईका विभिन्न सामुदायिक वनका पदाधिकारीहरू लगायतको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमका अधिकांश वक्ताहरुले सो सडक निर्माण कम्पनीले छिमेकी पालिकाहरू उर्लाबारी, बेलबारी सुन्दर हरैचामा जस्तो किसिमको सडक निर्माण हुन्छ ,त्यस्तै खालको पथरी खण्डमा पनि एसियन हाइवेको ३३ मिटरको सडक निर्माण हुनुपर्ने, सडकको दायाँबायाँ पक्की ड्रेन बन्नुपर्ने र ड्रेन माथि फुटपाथ हुनुपर्ने माग राखेपछि सो हाइवे निर्माण कम्पनीका एक जना प्रतिनिधि भने बीचैमा उठेर गएका थिए।
पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल मार्फत एसियन हाइवे निर्माण कम्पनीले पथरी शनिश्चरे नगरक्षेत्रमा २४ मिटर चौडाईको मात्रै ६ लेन सडक निर्माण गर्ने र सडक दुवै पट्टि पक्की ढल तथा फुटपाथ निर्माण नगर्ने भन्ने हल्ला बाहिरिए रहँदा यतिबेला पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा यो विषयले तातो बहसको रूप लिईरहेको छ।

Leave a Reply

Your email address will not be published.