मंसिर ४ पछि एमालेको सरकार बन्छ : ओली

दमक,२ कार्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गते पछि नेकपा एमालेको नेतृत्वमा बहुमतको सरकार गठन हुने दावी गरेका छन ।
आज दमकमा एमाले र राप्रपाको संयुक्त निर्वाचन अभियान अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनमार्फत एमालेले बहुमत ल्याएर अव देशमा बिकास संगै स्थिर सरकार दिने बताए ।
झापा क्षेत्र न. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका अध्यक्ष ओलीले सत्तामा रहेको गठवन्धन सरकारले जनादेशलाई अपमान गरेको भन्दै त्यस्ता षडयन्त्रको अन्त्य गर्नका लागि पनि जनताले एमालेलाई साथ दिने विश्वास व्यक्त गरे । उनले भने , –‘ मिलिजुली ठगी गरेर देशमा लुट मच्चाइरहेको यो सरकार अव मंसिर ४ पछि न सरकार , न त गठवन्धन नै रहन्छ । त्यसैले अब हरेक दिन गठवन्धनको दिनगन्ति सुरु भईसकेको छ । ’
अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले एक सय पचास सिट ल्याउने पनि ठोकुवा गरे । प्रत्यक्षतर्फ एक सय सिटमाथि ल्याउने छौ भने समानुपातिकतर्फ ५० सिट जित्ने दावी उनको थियो ।
उनले नेपाली काँग्रेसलाई यो मुलुकमा पटक पटक गरि झण्डै २४ बर्ष नेपाली काँग्रेसले नेतृत्वमा शासन गर्दा राम्रो काम गरे भन्ने एउटा उदाहरण दिन चुनौति दिए । एमालेको नेतृत्वमा ३ बर्षमा यो देशको बिकास काँचुली फेरेको भन्दै उनले त्यसैले अव बिकास तथा समृद्धि चाहने सम्पूर्ण नेपालीले आगामी मंसिर ४ मा एमालेलाई बहुमत सहितको सरकार निर्माण गर्न जनादेश दिने उल्लेख गरे ।
उनले राप्रपालाई झापा क्षेत्र नम्बर ३ मा पहिला पनि जिताएको र अब पनि इमान्दारपूर्वक मतदान गरेर विजयी गराउन समेत निर्देशन दिए ।
कार्यक्रममा क्षेत्र नम्बर ५ को ( क ) का प्रदेश सांसदका उम्मेद्वार हिक्मत कुमार कार्की ,प्रदेश ( ख ) का उम्मेद्वार होम बहादुर थापा, राप्रपाका केन्द्रीय सदस्य लक्ष्मी संग्रौलाले समेत बोलेका थिए ।

Leave a Reply

Your email address will not be published.