पथरी शनिश्चरे,२ कार्तिक । मोरङको पथरी शनिश्चरे वडा नम्बर १ जाँते मोडमा रहेको प्रस्तावित रङ्गशालामा दोश्रो पथरी शनिश्चरे आमन्त्रण गोल्डकपको तयारी तीव्र पारिएको छ।
आगामी कार्तिक १५ गतेदेखि सञ्चालन हुने उक्त गोल्ड कप फुटबल प्रतियोगिता भव्य र सभ्य तवरले सम्पन्न गर्न तयारीलाई तीव्रता दिइएको हो। पथरी– ११ फुटबल क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता कात्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुँदैछ । यता, ३ हजार बढी दर्शकहरूले बसेर खेल प्रत्यक्ष हेर्न र मनोरञ्जन लिन सक्ने क्षमताको प्यारापिट हाल निर्माण भइरहेको छ ।
अध्यक्ष सुमन विकका अनुसार सो प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन उक्त मैदानमा अहिले प्याराफिट निर्माण, घाँस काट्ने र सफाइका कामहरू तीव्र गतिमा भइरहेको छ । करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उक्त गोल्डकप फुटबल प्रतियोगितामा काठमाडौंमा ’ए’ डिभिजन लिग खेलिसकेका मुख्य तीन टिम, एक भारतीय टिम र अन्य स्थानीय चर्चित फुटबल क्लबहरू गरी कुल ८ वटा टिमले सहभागिता जनाउँदै छन्।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण मुलुकको अस्तव्यस्त आर्थिक अवस्थामा समेत प्रतियोगिता सञ्चालन गर्न क्लबले हिम्मतपूर्वक पहल गरिरहेको क्लबका अध्यक्ष बिकले बताए ।
गोल्डकप भव्य रुपले सम्पन्न गर्न अझै धेरै देशभित्र र बाहिरका सङ्घ संस्थाहरू तथा सहयोगी मनहरूबाट सहयोग प्राप्त हुने छ भन्ने विश्वास लिएको अध्यक्ष विकले बताए ।
पथरी शनिश्चरे नगरकै गौरवको रूपमा स्थापित हुँदै गएको प्रतियोगितामा यसपटक काठमाडौंका तीन ’ए’ डिभिजन क्लब, एक भारतीय फुटबल क्लब र र अन्य स्थानीय फुटबल क्लब सहित आठ टोलीले भाग लिने क्लवले जानकारी दिएको छ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ७५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । साथै, सर्वोत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदयमान खेलाडीलाई पनि विधागत पुरस्कार प्रदान गरिने बताईएको छ ।
गत वर्षको पहिलो संस्करणमा ललितपुरको ब्रीगेड ब्वाइज क्लबले काठमाडौंको संकटा क्लबलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।