गौरीगञ्ज , २ कात्तिक । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका वडा नं २ स्थित एक मन्दिर परिसरमा ५१ वर्षीय प्रह्लाद सापकोटाले छातीमा दसैंको जमरा उमारिआएका छन् ।गाउँपालिकाकी उपप्रमुख पुजन न्यौपानेका अनुसार स्थानीय पाथिभरा मन्दिरमा घटस्थापनाका दिनदेखि निराहार ब्रत बसेका सापकोटाले दसैंमा टिका लगाउनका लागि छातीमा जमरा उमारिआएका हुन् ।
असोज २८ गते विहान पूजापाठ गरेर सापकोटा मन्दिर परिसरमा सुत्नु भएको हो । जमरा रोप्नुभन्दा दुई दिन अघिदेखि पानी र अन्न समेत नखाई निराहार ब्रतमा रहेका उनले दुर्गा भगवतीको प्रसादको रुपमा जमरा प्रयोग गरिने बताए। छातीमा बालुवामाथि टपरामा जमरा उमार्न मकै, जौं लगायतका अन्नका दाना रोपिएको थियो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीका अनुसार ब्रतमा बसेको दुई दिनपछि जमरा उम्रिएका छन् । मन्दिरमा दैनिक पूजापाठ हुने गरेको र छातीमा उम्रिएको जमरा हेर्न भक्तजनहरुको घुइँचो लाग्ने गरेको उनले जानकारी दिए ।
धार्मिक स्वाभावका सापकोटाले कुनै शारीरिक कस्ट नभएको प्रतिक्रिया जनाए । ब्रतका बेला मलमूत्र त्याग समेत उनले गरेका छैनन् ।सापकोटाले आफुलाई पाथिभरा भगवतीको भक्त ‘माता गुरु’ बताउदै आएका छन् । उनका ६ जना सेवकले मन्दिर क्षेत्रमा आउने भक्तजनको व्यवस्थापन गरिरहेका छन् ।
स्थानीय तारा गिरीले जीवनमै पहिलोपल्ट छातीमा जमरा उमारेर निराहार ब्रत बसेको देख्दा अचम्म लागेको बताए । महानवमीका दिन एक लाख दीप प्रज्ज्वलन गरेर ब्रत समापन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
दसैंको महानवमीका दिनसम्म दुर्गा भवानीको विधिपूर्वक पूजा गरेर छातीमा राखिएको मकै र जौको जमरालाई प्रसादका रुपमा सर्वसाधारणलाई दिइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताए ।