अपराजित नेपाल ‘विश्वकप छनोट च्याम्पियन’

झापा,१ कार्तिक । ‘आईसीसी ट्वान्टी–२० विश्वकप’ पुगेको नेपालले ‘ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिक छनोट’ उपाधिसमेत चुमेको छ । अन्तिम खेलमा शुक्रबार सामोआलाई १ सय २४ रनले हराउँदै नेपाल विजेता बनेको हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को आयोजनामा भएका प्रतियोगितामा जितेको यो सबैभन्दा ठूलो प्रतियोगिता पनि हो ।

सन् २०१३ मा पहिलोपटक ‘ट्वान्टी–२० विश्वकप’मा छनोटका समय यूएईमा सम्पन्न ‘ग्लोबल छनोट’मा नेपाल तेस्रो भएको थियो । यसको १० वर्षपछि ‘ट्वान्टी–२० विश्वकप’मा पुनरागमनक्रममा काठमाडौंमा भएको ‘एसिया छनोट’मा नेपाल उपविजेता बनेका थियो ।
ओमानमा जारी प्रतियोगिताको ‘सुपर सिक्स’को यसअघिका ३ खेल जितेर ८ अंकसहित नेपाल गत ७ फेब्रुअरीदेखि ८ मार्चसम्म भारत र श्रीलंकामा २० राष्ट्रसम्मिलित ‘आईसीसी ट्वान्टी–२० विश्वकप’मा छनोट भइसकेको थियो । नेपालसहित ओमान र यूएईले पनि ट्वान्टी–२० विश्वकपमा स्थान निश्चित गरिसकेका थिए । अपराजित रही विजेता बनेर नेपालले १० अंक जोडेको हो । ओमानको ८ र यूएईको ६ अंक रह्यो ।

नेपालले सामोआलाई पराजित गरी ओमानलाई २ अंकले पछाडि पारेको हो । २ सय १२ रनको लक्ष्य लिएर आएको सामोआ ७ विकेट गुमाई ८७ रन मात्र बनाउन सक्यो । ओपनर सिन सोलिआले सर्वाधिक ४० रन बनाए । उनले ३७ बल खेलि २ चौका र १ छक्का प्रहार गरे । बेन्जामिन माइलताले ११ रन बनाए । ललित राजवंशीले ३ विकेट लिए । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चे । करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले १–१ विकेट लिए ।
यसअघि ‘टस’ हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ११ रन बनाएको थियो । आसिफ शेख र कुशल भुर्तेलले पावर प्लेको पहिलो ६ ओभरमा ६१ रन जोडेर नेपाललाई आक्रामक सुरुआत दिलाएपछि नेपालले विशाल स्कोर बनाएको हो । भुर्ते ल १५ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाई ‘आउट’ भए । आसिफले ६९ रन बनाए ।
ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो उनको उच्च स्कोर हो । अघिल्लो महिना उनले शारजहाँमा वेस्ट इन्डिजविरुद्ध ६८ रन बनाएका थिए । आसिफले ४१ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । प्रतियोगितामा पहिलो पटक मौका पाएका आसिफका दाई आरिफ २ चौकासहित ९ रन बनाई आउट भए । दीपेन्द्रसिंह ऐरीले ५३ रन बनाए ।
उनले ३३ बल खेलि २ चौका र ४ छक्का प्रहार गरे । नेपालले अन्तिम ५ ओभरमा ७९ रन जोडेको थियो । रोहित ११ बल खेल्दै समान १ चौका र छक्कासहित २२ तथा लोकेश बम १२ बल खेलेर २ चौका र ४ छक्कासहित ३९ रन बनाई अविजित रहेका छन् ।

च्याम्पियन बनेसँगै सबै क्रिकेट खेलाडीले १९ लाख ५० हजार पुरस्कार पाउने

आईसीसी टी–द्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको ट्रफी जितेको नेपाली क्रिकेट टोलीका सबैले जनही १९ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् ।
शुक्रबारको खेलमा सामोआलाई पराजित गर्दै नेपाल आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको च्याम्पियन बनेसँगै उक्त पुरस्कार पाउने भएको हो ।
विश्वकप छनोट खेलेको नेपाली टोलीका खेलाडीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र सोमपाल कामी छन्।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले छनौट खेल जितेको नेपाली क्रिकेट टिममा सबै सदस्यले उक्त पुरस्कार प्राप्त गर्ने जानकारी दिए । विश्वकपमा छनोट हुने र छनोट प्रतियोगितामा च्याम्पियन हुने टोलीलाई पुरस्कार दिने घोषणा यसअघि नै भइसकेको उनको भनाइ छ ।
घिसिङले खेलकुद विकास नियमावली २०७९ अनुसार सो पुरस्कार रकम दिइने बताए । घिसिङकै कार्यकालमा ल्याइएको खेलकुद विकास नियमावलीमा खेलाडीहरूलाई प्रदान गरिने पुरस्कारलाई व्यवस्थित गरिएको थियो ।
कस्तो प्रतियोगिता जितेमा खेलाडी र प्रशिक्षकलाई कति पुरस्कार दिने भन्ने नियमावलीमै उल्लेख छ । नियमावलीको अनुसूची ४ अन्तरगतको व्यवस्था अनुसार यदि नेपालले विश्वकप नै जितेको खण्डमा खेलाडीले जनही ५२ लाख ५० हजार रुपैयाँ पाउँछन् ।

यस्तै, उपविजेता भएको खण्डमा जनही २६ लाख र तेस्रो भएमा १९ लाख ५० हजार दिने व्यवस्था छ । विश्वकप छनोट प्रतियोगितामा पहिलो भएको अवस्थामा पनि प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने व्यवस्था गरिएको छ ।
दोस्रो भएमा १३ लाख र तेस्रो भएमा ९ लाख १० हजार पाउँने व्यवस्था छ । नियमावली अनुसार २०२४ को विश्वकप छनोट प्रतियोगितामा नेपाल दोस्रो हुँदा खेलाडीले १३ लाख जनही पाएका थिए ।

छनोट प्रतियोगिताको उपाधि जितेर प्रमुख प्रशिक्षकले ६ लाख २५ हजार, सहायक प्रशिक्षक, फिजियो र अफिसियललाई ३ लाख २५ हजार दिइने भएको छ । दोस्रो भएमा प्रमुख प्रशिक्षकले ३ लाख ९० हजार र अफिसियलहरुले एक लाख ९१ हजार रुपैयाँ प्राप्त गर्ने थिए ।
प्रतियोगिताको उपाधि जित्नेकोले नेपाल क्रिकेट संघ (क्यान) ले पनि ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुँदा ३ लाख ९० हजार र तेस्रो भएमा २ लाख ६० हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।
अर्ना ब्राण्डले पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई टी–२० विश्वकपका लागि छनोट भएमा आर्थिक सहयोगको घोषणा गरेको थियो । अर्नाले टिमलाई ५१ लाख र खेलाडीलाई ५१ लाख पुरस्कार घोषणा गरेको छ ।

शुक्रबार ओमानमा भएको अन्तिम खेलमा सामोआलाई १२४ रनको विशाल अन्तरले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो । नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनाएको थियो ।
नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा उपाधि जितेको हो । यसअघि सन् २०२३ मा विश्वकप छनोटमा नेपाल फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो ।
पछिल्लोपटक नेपालले सन् २०१४ मा आईसीसी डिभिजन चारको उपाधि जितेको थियो । त्यसअघि सन् २०१० मा डिभिजन ४ को उपाधि जितेको थियो । २०१४ यता आईसीसीको आयोजनामा हुने छनोटलगायतका प्रतियोगिता नेपालले जित्न सकेको थिएन ।
नेपालले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टि–२० विश्वकपमा तेस्रो पटक भाग लिने भएको छ । नेपालले यसअघि २०१४ र २०२४ मा विश्व कप खेलेको थियो ।

Leave a Reply

Your email address will not be published.