झापा,२ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी ) उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको हो।लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले शुक्रबार प्रहरीलाई अनुमति दिएको थियो।
अदालतबाट अनुमति पाएलगत्तै कास्की प्रहरीले उनलाई पक्राउ गरेर पठाइदिन काठमाडौंका प्रहरी कार्यालयमा पत्र पठाएको थियो।लामिछानेलाई शुक्रबार बेलुका नै गाडीमा पोखरा लैजाने तयारी छ।
रविविरुद्ध गत वर्ष माघमै कृष्णप्रसाद जैशी लगायत सूर्यदर्शन सहकारीका पीडितले पूरक जाहेरी दिएका थिए। सूर्यदर्शन सहकारीको ठगीमा यसअघि रविका व्यावसायिक साझेदार जीबी भन्ने गीतेन्द्रबाबु राईसहित विरुद्ध मुद्दा दायर भइसकेको छ।
जीबी हाल फरार छन्। उनी मलेसियामा रहेको थाहा पाए पनि प्रहरीले ल्याउन सकेको छैन्।
उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिससमेत जारी भइसकेको छ। अर्का गोर्खा मिडियाकै सञ्चालक छविलाल जोशी भने २७ दिनदेखि हिरासतमा छन्। उनलाई असोज ६ गते प्रहरीले काठमाडौँमा पक्राउ गरेर कास्की लगेको थियो।उनीविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बनधी कसुरमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ। लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न अनुमति दिएको हो ।पक्राउ पुर्जी जारी भएकाहरुमा रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तवावु राई, रामबहादुर खनाल, देवेन्द्रवावु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, विरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठ छन् ।