मुसहरघट्टामा पुल निर्माण , स्थानीयहरु खुसी

पथरिशनिश्चरे, २ कार्तिक । मोरङको पथरीशनिश्चरे वडा नम्बर ६, पथरी खोला मुसहरघट्टामा पक्की पुल निर्माणसँगै स्थानीयमा खुशी थपिएको छ।
खासगरी वर्षायामका असार , साउन भदौ र असोज सहितका ४ महिना पथरी खोलामा बग्ने बाढीले चिसापानी गाँउदेखि अर्को गेलाबारी गाउँमा पुग्न ४ -५ किलो मिटरको अर्कै बाटो घुम्नु पर्थ्यो । ४१ मिटर लामो पीएस सीटी बिम ब्रिज निर्माण भएसँगै स्थानीय बासिन्दाहरूलाई यातायातमा सहज भएको वडा नम्बर ६ मेघराज अधिकारी बताउँछन् ।
उनले यो खोलामा पुल बनेसँगै सो क्षेत्रका स्थानीय बासिन्दाहरूलाई आफूले उत्पादन गरेको कृषि उपजहरू उत्तरमा पर्ने पथरी बजार वा दक्षिणको सुनवर्षी नगरपालिका (अमरदह बजार )सम्म पुर्याउन सजिलो रहेको उल्लेख गरे । यहाँ निर्माण भएसँगै स्थानीय बासिन्दाहरूलाई यातायातमा भने निकै सहज भएको स्थानीयको भनाइ छ।
संघीय सरकारको पहिलो किस्तावापतको १ करोड ३३ लाख र पथरी शनिश्चरे नगरपालिकाको ३ करोड ४५ लाख रुपैयाँ गरी कुल ४ करोड ७८ लाख रुपैयाँ बराबरको लगानीमा सो पुलको निर्माण सम्पन्न भएको हो।
यो पुल निर्माण भएसँगै पथरी बजार वा नजिकैको सुनवर्षी नगरपालिकामा क्षेत्रमा बसोबास गर्ने स्थानीयले उत्पादन गरेका कृषिजन्य उत्पादनहरू धान मकै गहुँ, कोदो फापर , साग सब्जी आदि बिक्री गर्नका लागि आवतजावतमा सजिलो भएको छ भने विद्यालय, क्याम्पसमा पढ्नका लागि विद्यार्थीहरूलाई पनि यातायात सहज भएको सोहि वडाका वडाध्यक्ष कृष्णप्रसाद बस्नेतले बताए।
सो पुल निर्माण भएसँगै पथरी शनिश्चरे नगरपालिकाका वडा नं १,२, ३ ,४, ५, ६, ७, ८ तथा सुनवर्षी नगरपालिकाका आधा वडाहरूमा बसोबास गर्नुहुने स्थानीयवासीहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।
उच्च महत्वका साथ पथरी शनिश्चरे नगरपालिकाको आफ्नो नगरकै गौरवको योजनाको रूपमा रहेको भन्दै वडा नं ६ हसन्दह निवासी समेत रहनुभएकी पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्लेले आफ्नो जुझारु जनप्रतिनिधिहरूको टिमले वर्षौंदेखिको समस्याको रूपमा जकडिएको पुल निर्माण गर्ने कार्यमा सफल भएको जिकिर गरिन् ।
उनका अनुसार उक्त पथरी खोलामा पक्की पुल निर्माण भएपछि पथरी बजार हुँदै डायनिया चोकसम्म पुग्न सजिलो भएको छ। साना सवारी साधनहरू आवतजावत गर्न थाले पनि नवनिर्मित पुलको दायाँबायाँ भागमा कालोपत्रे गर्ने सहितको सवा किलोमिटर सडक क्षेत्रमा कालोपत्रे गर्न बाँकी रहेको छ। केही बाँकी कामहरू नगरपालिकाले यसै आर्थिक वर्ष २०८१र०८२ मा निर्माण कार्य गरिसक्ने पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले जानकारी दिए।
उहाँले यो पुल पथरी शनिश्चरे नगरपालिका सहित दक्षिणका सुनवर्षी नगरपालिका, रङ्गेली नगरपालिका र विराटनगर महानगरपालिका जोड्ने सबैभन्दा छोटो दूरीको भरपर्दो र छिटो समयमा पुग्न सकिने अर्को एक वैकल्पिक मार्गको रूपमा विकास गरिएको उनको भनाई छ ।
पथरी बजारदेखि यही बाटो भएर कोशी प्रदेश र मोरङ जिल्लाको सदरमुकाम विराटनगर पुग्नलाई ४० -४१ किलोमिटरको दुरी छिटो समयमा पार गर्न सकिने उनले जनाएका छन् ।
नगर प्रमुख तुम्बापोले सो पुलको निर्माणका लागि छुट्याइएको समय अवधि अगावै निर्माण भई आवतजावत सुचारु भएकोमा खुसी लागेको पनि उल्लेख गरे ।
उक्त पुलको दायाँबायाँ सहित अन्य (जयबहादुर चोक ) भागमा कालोपत्रे गर्नको लागि एक करोड १६ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको जनाईएको छ।
यो पुल निर्माण गरिएसँगै पथरी बजारदेखि गेलाबारी ,जयबहादुर चोक हुँदै सुनबर्सी नगरपालिका , रङ्गेली नगरपालिका हुँदै विराटनगर जान सहज होस भन्ने उद्देश्यले सो पुल निर्माण गरिएको नगर प्रमुख तुम्बापोले बताए ।

Leave a Reply

Your email address will not be published.