पथरी शनिश्चरे, ३० असोज । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं। ८ ले सञ्चालन गरेको ‘वडादेखि ढोकासम्म’ कार्यक्रम होम डेलिभरी सेवा प्रभावकारी बन्दै गएको छ ।केही दिन अगाडि आफ्नो फेसबुक मार्फत् कार्यक्रमको सार्वजनिक गरेका वडा अध्यक्ष नविन कार्कीले सोमबार वडाको दुई जना नानीहरुको जन्मदर्ता घरैमा गएर कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् ।
वडाबाट हुने जन्मदर्ता, मृत्युदर्ता, जन्म प्रमाणित, मृत्यु प्रमाणित, अस्थायीर स्थायी बसोबास प्रमाणित, बिपन्न नागरिक सिफारिस, ६८ बर्ष पूरा भएपछि राज्यले दिने जेष्ठ नागरिक भत्ता कार्ड, अपांगता परिचयपत्र सिफारिस, दिर्घरोगी सिफारिस, रातो र निलो कार्ड भएको अपाङ्गता भएका व्यक्तिहरुको सबै प्रकारको सिफारिस वा प्रमाणित, ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको सबै प्रकारको सिफारिस वा प्रमाणित लगायत सेवाहरु होम डेलिभरी भइरहेको छ ।
यी विविध सेवाहरू होम डेलिभरी सेवा मार्फत् लिनका लागि आवश्यक कागजातहरु स्कानिङ गरेर बुझिनेगरी ९८४२०३४९१५ नम्बरको ह्वाटसपमा र वडाअध्यक्षको नविन जंड कार्की फेसबुकमा म्यासेज वा psmunward8@gmail.com मा इमेल गरेर पठाउनुपर्नेछ । यी कागजहरु प्राप्त भएको २४ घण्टाभित्रमा जनप्रतिनिधि वा वडाका कर्मचारीहरु मार्फत् सेवाग्राहीको घरमै कागजपत्र निःशुल्क पुरर्याइने वडा सदस्य बाबुरा चौधरीले जानकारी दिए।
यसरी कागजात घरमा नै लगेर दिने नेपालकै यो कार्यक्रम सम्भवतः पहिलो हुनसक्ने आँकलन गरिएको छ ।