कमल,३० असोज । झापाको कमल गाउँपालिकामा चौथो अन्तर वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा कमल १ ले विजयी शुरुवात गरेको छ ।सोमबार सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा वडा न. १ ले वडा नम्बर २ लाई शून्यको विरुद्ध २ गोल गर्दै विजयी शुरुवात गरेको हो ।
वडा नम्वर १ का तर्फ बाट भाष्कर चौलागाईँले जित दिलाउन दुवै गोल गर्न सफल भएका थिए । खेलको म्याद अफ दी म्याच समेत चौलागाईँ नै भएका आयोजक कमल गाउँपालिका खेलकुद विकास समितिका सदस्य बिक्रम निरौलाले बताए । आज मङ्गलबारको खेल वडा नम्बर ५ र ७ का बीच हुने छ ।
कमल वडा नम्बर ७ विष्णुकठ्ठास्थित सिंहदेवी आधारभुत विद्यालयको खेल मैदानमा शुरु प्रतियोगिताको फाइनल खेल आगामी कार्तिक ४ गते हुने खेल संयोजक तेजकुमार राईले बताए ।
प्रतियोगिताको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरेका थिए । प्रतियोगितामा विजेता, उपविजेता टिमलाई क्रमशः ४० हजार र २५ हजार ,ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने उनले बताएका छन् ।
कमल गाउँपालिका खेलकुद विकास समितिका संयोजक चन्द्र मगरको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटनमा अध्यक्ष राई ,उपाध्यक्ष प्रमिला तिवारी न्यौपाने र शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपाने ,वडा नम्बर ७ का वडाअध्यक्ष पृथीपति राईले शुभकामना मन्तव्य राखेका थिए ।