हल्दिवारीमा एमालेका युवा बिद्यार्थीहरुको सामुहिक राजीनामा

झापा, ३१ असोज । झापाको हल्दीबारीमा नेकपा एमालेका युवा बिद्यार्थी सम्बद्ध दुई जनवर्गीय संगठनका नेताहरुले पार्टीले गलत निर्णय लिएको ठहर गर्दै संगठनका कुनै पनि जिम्मेवारीमा नरहने गरी संयुक्त राजीनामा दिएका छन् ।
सोमबार राष्ट्रिय युवा संघ र अनेरास्ववियूका स्थानीय नेतृत्वले संयुक्त विज्ञप्ती जारी गर्दै पार्टीका केही नेतृत्वले झापाको क्षेत्र नं ३ मा पार्टीलाई विस्थापित गराउने र फरक आस्था र विचार राख्ने पार्टी राप्रपालाई पटक पटक स्थापित गराउन चुनावी तालमेल गरेकोमा असन्तुष्टि जनाउँदै राजिनामा दिएका हुन् ।
राष्ट्रिय युवा संघका गाउँ कमिटी अध्यक्ष अनिल मेचे र सचिव मनोज सुवेदी तथा अनेरास्ववियुका गाउँ कमिटी अध्यक्ष विजय राई र अभिषेक खतिवडाले हस्ताक्षर गरेर सावजनिक गरेको विज्ञप्तीमा मसिंर ४ मा हुने निर्वाचनमा राप्रपाका लागि भोट माग्न र एमाले–राप्रपाको तालमेलबाट तय भएका चुनावी कार्यक्रमहरुमा सहभागी हुन नसक्ने जनाउ समेत दिइएको छ ।
झापाको निर्वाचन क्षेत्र नं ३ मा २०७४ मा एमालेले आफना कार्यकर्ताहरुलाई एकपटक राप्रपालाई सघाउन निर्देशन गरेको थियो । तर यसपटक आउँदो मसिंर ४ मा हुने निर्वाचनमा पनि संघीय निर्वाचन क्षेत्रमा राप्रपाका राजेन्द्र लिङदेनलाई सघाउन भनेपछि एमाले पार्टी र जनवर्गीय संगठनका स्थानीय नेता, कार्यकर्ताहरुले तिब्र असन्तुष्टि जनाउँदै आएका छन । कार्यकर्ताहरुको भावना विपरित प्रमुख एजेण्डामानै बेमेल रहेको राप्रपालाई चुनावमा पटक पटक समर्थन जनाएर भोट माग्दै जान नसकिने एमाले भित्रका धेरै असन्तुष्ट नेता, कार्यकर्ताहरुको निष्कर्ष छ । यससंगै एमाले अध्यक्ष केपी शर्मा ओली, अग्नी खरेल , देवराज घिमिरे लगायतका उच्च तहका नेताहरुको जितमा सहजताका लागि एमालेले खोजेको राप्रपाको साथ मतदाता तथा तल्लो कार्यकर्ताको तहबाट गुम्ने सम्भावना बढेको छ ।
एमाले राप्रपा तालमेलप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधि सभा तर्फ क्षेत्र नं २ मा अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हरिकुमार राना , क्षेत्र नं ३ मा डम्बर गिरी र प्रदेश सभा सदस्य तर्फ शिवसताक्षीका पूर्व वडाध्यक्ष केहरसिंह बस्नेत लगायत एमाले नेता कार्यकर्ताहरु कोही सत्तारुढ गठबन्धनबाट त कोही स्वतन्त्र उम्मेदवार बनेका छन् । रानाले गठबन्धनमा आवद्ध माओवादी केन्द्रको भागमा परेको क्षेत्र नं २ पाएका छन भने गिरीले प्रतिनिधि सभा सदस्य तर्फ स्वतन्त्र उम्मेदवारी दिएका छन । उनले सूर्यमुखीको फूल चुनाव चिन्ह पाएका छन ।

Leave a Reply

Your email address will not be published.