मोरङ,३० असोज । विराटनगरमा एकजना होटल सञ्चालक माथि खुकुरी प्रहार भएको छ । उनीमाथि दुई युवाले खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगरको भूमी प्रशासन चोकमा मुन होटल सञ्चालन गर्दै आएका दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको जिप्रका मोरङका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।विराटनगर उपमहानगरपालिका– १० स्थित लालिगुराँस चोकमा भगतमाथि खुकुरी प्रहार भएको हो ।
‘घटना मंगलबार साँझ ६ बजेको हो,’ इन्सपेक्टर ओलीले भने, ‘खुकुरी प्रहारबाट भगतको देब्रे हात र शरीरका अन्य विभिन्न ठाउँमा चोट लागेको छ । कोशी अस्पताल उपचारपछि उनी राति नै डिस्चार्ज भइसकेका छन्। अवस्था खतरामुक्त छ ।’
विराटनगर– ९ का सावन दास र विनोद रायले भगतमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘आरोपी दुवै फरार छन् । हामी उनीहरुको खोजी गरिरहेका छौँ,’ ओलीले भने ।
गीत गजलको विषयमा भएको विवादलाई लिएर भगतमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।