नापीका सर्वेक्षक र बिचौलिया घुससहित पक्राउ

झापा , २९ असोज । जिल्ला नापी कार्यालय झापाका एक कर्मचारी र बिचौलिया घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सोमबार दिउँसो नापी कार्यालय सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई घुससहित पक्राउ गरेको हो । उनीहरूले जग्गा कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस मागेका थिए।

भद्रपुर– ७ स्थित बिचौलिया यादवको फलफूल पसलमा सेवाग्राहीसँग नगद ७० हजार रुपैयाँ र ५५ हजार रुपैयाँको चेकसहित जम्मा १ लाख २५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी लगिएको जनाइएको छ। सर्वेक्षक ठाकुर लामो समयदेखि नापी कार्यालय झापामा कार्यरत थिए। सरुवा भएपनि उनी मिलाएर पुनः झापा आउने गरेको कर्मचारी स्रोतको दाबी छ।

 

Leave a Reply

Your email address will not be published.