झापा, असोज २९ । बैदेशिक रोगजारीका क्रममा साउदी अरबमा पुगेका झापा,बाह्रदशी–१ बस्ने कर्णबहादुर केरुंगाको मृत्यु भएको छ ।अचानक रिंगटा लागेर उनी ढलेका थिए । काम गर्दागर्दै अचानक रिंगटा लागेर ढलेपछि सहकर्मी साथीहरू तथा कम्पनीका मालिकले अलकासिमस्थित किंग फाहाद हस्पिटलमा उपचारका लागि उनलाई लगेकामा उपचारकै क्रममा गत ३० सेप्टेम्बरमा उनको मृत्यु भएको हो । उनी साउदी अरबको अलकासिमस्थित एक निजी कृषि फार्ममा लामो समयदेखि काम गर्दै आएका थिए ।
नेपाली राजदूतावास रियादका द्वितीय सचिव टीकाराम उपाध्याय र अलकासिमस्थित गैरआवासीय नेपाली संघ साउदी अरबका पूर्व उपाध्यक्ष तथा नेपाली राजदूतावास रियादका अवैतनिक प्रतिनिधि भक्तवीर राईलगायतको प्रयासपछि मृतकको शवलाई मंगलबार नेपाल पठाएको संघका क्षेत्रीय समन्वय समिति अलकासिमका सचिव सिद्धिलाल श्रेष्ठले जानकारी दिए ।