बिर्तामोडमा मञ्चको पार्टी कार्यालय उद्घाटन

विर्तामोड, ३० असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल झापा जिल्ला कार्य समितिको नयाँ पार्टी कार्यालय सञ्चालनमा आएको छ । विर्तामोडस्थित नयाँ बसपार्कमा शनिवार एक कार्यक्रमका बीच मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले कार्यालयको उद्घाटन गरे ।
त्यस अवसरमा कार्यालय उद्घाटनसँगै मञ्चले आगामी मंसिर ४ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिक उम्मेद्वारहरुलाई खादा ओडाई सम्मान समेत गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष लिङ्देनले आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि र प्रदेश निर्वाचनका उम्मेद्वारहरुलाई जितको अग्रिम शुभकामना दिदैं सबै नेता तथा कार्यकर्ताहरु चुनावी कार्यक्रममा शसक्त रुपमा जुट्न निर्देशन दिएका थिए । आगामी निर्वाचन पार्टीको जीवनमरणको दिन भएको भन्दै अध्यक्ष लिङ्देनले सबै नेताहरुले यसलाई अपनत्व गर्नुपर्ने बताए ।
कार्यक्रममा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ र महासचिव दिलकुमार लावतीले नयाँ कार्यालय संचालनको लागि धन्यवाद व्यक्त गर्दै सम्पूर्ण उम्मेद्वारहरुलाई जितको अग्रिम शुभकामना दिए । कार्यक्रममा लिम्बुवानका बरिष्ठ नेता तथा उम्मेद्वार ज्ञानु इम्बुङ, उपाध्यक्ष विष्णुमाया थापा, धनराज सुब्बा, राजु राई, कविन्द्र सेर्मा, सुर्यप्रसाद लिम्बू, लिलामाया राई, थिरबहादुर खवास लगायतले आफूहरुले जित्ने मन्तव्य राखेका थिए ।
जिल्ला अध्यक्ष नगेन राईको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष अमित खम्बुले राखेका थिए भने कार्यक्रमको संचालन जिल्ला सचिव विकास मगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.