दमक, २९ असोज । चाँगे ताप्लेजुङ घर भई पूर्वी तराईमा बस्दैआएकाहरुको आज ५ औं वृहत केन्द्रीय भेला झापाको कमल गाउँपालिकामा सम्पन्न भएको छ । चाँगे ताप्लेजुङ एकता सम्पर्क समाज नेपालको आयोजनामा भएको वृहत भेलामा झापा, मोरङ र सुनसरीका ५ सय बढीको सहभागिता रहेको थियो ।
कमल ३ मा भएको भेलामा सहभागि वक्ताहरुले चाँगे ताप्लेजुङ घर भई पूर्वी तराईका तीन जिल्लामा बस्दैआएकाहरुवीच आपसी समन्वय तथा सामाजिक कार्यमा जोड दिन संस्थागत एकता आवश्यक भएको औल्याए । भेलामा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, भरतवंशी चुडाँल लगायतले समाजको आवश्यकता औल्याएका थिए ।
समाजका अध्यक्ष समेत रहेका समाजसेवी विजयकुमार आङबुहाङको अध्यक्षतामा भएको भेलामा संस्कृतिमूलक लिम्बू जातिको धाननाँच, च्यावु्रङ तथा लोपोन्मुख वालन, संगीनी नाँच समेत प्रस्तुत गरिएको समाजका सदस्य भाइचुङ लिम्बूले जानकारी दिए । उनका अनुसार अध्यक्ष आङबुहाङले संस्थाको भवन निर्माणका लागि कमल ३ स्थित पूर्वपश्चिम राजमार्ग संगै जोडिएको एक कठा १० धुर जमीन निशुल्क दान दिएका छन् ।
यसैगरि, आज सम्पन्न भेलाको समेत सम्पूर्ण खर्च समेत दाता आङबुहाङले प्रायोजन गरेका थिए ।
सामाजिक कार्य गर्ने उद्देश्यले तराईमा बस्दैआएका चाँगे ताप्लेजुङबासीले २०७५ सालमा उक्त संस्था गठन गरि विभिन्न गतिविधिहरु गरिदैआएको समाजका संस्थापक अध्यक्ष प्रकाश आङबुहाङले बताए । सो अवसरमा संस्थाले आजीवन सदस्य लिएकालाई समेत सदस्यता प्रमाणपत्र वितरण गरेको थियो । उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव दुर्गाप्रसाद निरौलाले गरेका थिए ।