दमक,२९ असोज । झापाको दमक १० स्थित इन्द्रेणी तालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तिहार विशेष कार्यक्रमको रूपमा सहासिक खेल ‘एड्भेन्चर कोम्बो’ आयोजना गर्न लागिएको छ ।इन्द्रेणी तालको पहिचान, आन्तरिक पर्यटन प्रवद्र्धन र स्वरोजगार वृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिने इभेन्टमा एड्भेन्चर कम्बोसहित म्याराथन दौड, पौडी र बेलुन टप समावेश हुने आयोजक इन्द्रेणी ताल संरक्षण तथा व्यवस्थापन समितिले जानकारी दिएको हो । समितिले शुक्रवार पत्रकार सम्मेलन गरि इभेन्टका बारे उक्त जानकारी दिएको हो ।एड्भेन्चर कम्बोका विजेताले रु ५० हजार प्राप्त गर्ने छन् भने अन्य इभेन्टका विजेताले रु १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
कार्तिक ६ गते इभेन्टको औपचारिक सुरुवात हुनेछ भने चाडपर्व र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका कारण आगमी मंसिर १० देखि १४ गतेसम्म सम्पन्न गरिने इन्द्रेणी ताल संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष गोपाल राईले जानकारी दिए । इभेन्ट सम्पन्न गर्न करिब रु २० लाख खर्च हुने जनाईएको छ ।
समितिका सदस्य बिनोद न्यौपानेले प्रस्तुत गरेको थ्रीडी भिजुअलमा जनाइएअनुसार ‘एड्भेन्चर कोम्बो इभेन्ट’ अन्तर्गत सहभागीले ५ मिनेट समयमा ३० मिटर बनाना ट्री रन, ९० मिटर साइकिलिङ रन, २० मिटर मङ्की वाक, ३० मिटर वेट क्यारी (पुरुष ५० र महिला ४० केजी), बेलुन कलेक्सन २० मिटर, जिपलाइन ७० मिटर, हिल क्लाइम्ब, बम्बो वाक, बोट क्रावलिङ, टेबल रन ३० मिटर र बर्जर हिट चरण पार गर्नुपर्ने छ ।
व्यवसायिक र सर्वसाधारण खेलाडीले सहभागी हुन सक्ने ‘एड्भेन्चर कोम्बो इभेन्ट’मा सहभागी हुन रु १ हजार शुल्क तोकिएको छ भने अन्य इभेन्टका लागि म्याराथन बाहेक ५ सय शुल्क बुझाउनु पर्नेछ ।
इभेन्टअन्तर्गत विर्तामोडदेखि पश्चिम इटहरीसम्मका साहसी खेलका खेलाडी र खेल प्रेमीलगायत अन्य आन्तरिक पर्यटकहरु गरी करिब डेढ लाख मानिस सहभागी हुने आयोजकले अनुमान गरेको छ ।
इन्द्रेणी तालको निर्माण कार्य अन्तिम चरणमा
इन्द्रेणी तालमा जारी भौतिक निर्माण कार्य ८० देखि ८५ प्रतिशत पूरा भएको इन्द्रेणी ताल संरक्षण तथा व्यवस्थापन समितिले जानकारी दिएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु १ करोड ९० लाख बजेट विनियोजित भएकोमा दमक नगरपालिकाले आह्वान गरेको टेण्डर प्रक्रियामा अग्नि एण्ड सन्सले रु १ करोड १३ लाख ७१ हजार २ सय ९१ रूपैयाँ ८३ पैसामा २०७८ बेशाख २४ गते ठेक्का पारेको थियो ।
हाल सो क्षेत्रमा बाटो निर्माण, ताल वरिपरी घेराबाराका लागि पिलर निर्माण, ओभर ब्रिज (स्टिल र सिमेन्ट) निर्माण, ४ वटा बेली ब्रिज निर्माण कार्य सकिएको समितिका अध्यक्ष राईले बताए ।