दमक, २९ असोज । नेपाली कांग्रेस नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले शनिवार झापा क्षेत्र नम्बर ५ प्रदेश ( ख ) स्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेका छन् । आगामी मंशिर ४ मा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका सन्दर्भमा गठबन्धनमा रहेका स्थानीय नेता कार्यकर्ताहरु विच अभिमुखिकरण कार्यक्रम गर्दै भेला सम्पन्न भएको हो । नेकपा माओवादी केन्द्रका नेता तथा गठबन्धनको निर्वाचन परिचालन समिति प्रदेश क्षेत्रीय संयोजक बिरेन्द्र बस्नेतको अध्यक्षतामा भएको भेलामा वक्ताहरुले गठबन्धनका उम्मेद्वारहरु बिजयको यात्रामा अघि बढिसकेको दाबी गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य ईन्द्र बुढाथोकी, कांग्रेस झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराई, माओवादी नेता दुर्गा चम्लागाईं (श्रीकान्त) लगायतले बोल्दै यस क्षेत्रको बिकास र समृद्धिका लागी गठबन्धनका उम्मेद्वारहरुलाई जिताउनु पर्ने नागरिकले बुझिसकेको भन्दै बिजयको शुभकामना दिए । यहाँबाट पटक पटक निर्वाचित भएर जानेहरुले अहिलेसम्म बिकास नगरी गफ मात्रै गरेको भन्दै वक्ताहरुले अब जनताले गफ गर्नेलाई भन्दा पनि काम गर्नेलाई जिताउने बताएका थिए ।
कार्यक्रममा गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेद्वार डा. खगेन्द्र पाण्डब अधिकारी, प्रदेश (ख) का उम्मेद्वार गगन पुरी, कांग्रेसबाट प्रतिनिधिसभाका समानुपातिक उम्मेद्वार आईन्द्र केरुङ र माओवादी केन्द्रबाट प्रदेशसभामा समानुपातिक उम्मेद्वार हुकुमसिंह नेपालीले पनि बोलेको कांग्रेस दमकका कार्यबहाक सभापति युवराज खनाल (सागर ) ले जानकारी दिए ।