
दमक,२८ असोज । झापाको विर्तामोडमा सञ्चालित भूतपूर्व सैनिक गोल्डकपको उपाधि बिर्तामोड भारतीय गोर्खा भूतपूर्व सैनिक संघले जितेको छ । दुधेको भूतपूर्व सैनिक संघलाई हराउँदै आयोजक भूपू सैनिक संघ विर्तामोडले उपाधि जितेको हो ।
प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलमा दुधेको माङमारी टिमलाई ३–० गोल अन्तरले पराजित गर्दै आयोजक च्याम्पियन बनेको हो ।
प्रतियोगिताका विजेताले रु एक लाख ११ हजार १११, ट्रफी र मेडल पायो भने उपविजेता टिमले रु ६१ हजार १११, ट्रफी र मेडलमा चित्त बुझायो । खेलमा ६० वर्षभन्दा माथिका उच्च गोलकर्ता आयोजकका क्याप्टेन डिके गुरुङले रु २५ हजार प्राप्त गरे ।
त्यस्तै, प्रतियोगिताका बेस्ट डिफन्स दुधेका बुरा राई, मिडफिल्ड आयोजकका शेरबहादुर गुरुङ, फवर्ड आयोजककै तोयाप्रसाद भूजेल र गोलकिप्पर विजेता टिमका शिवकुमार गुरुङ घोषित भए । उनीहरुले जनही रु पाँच,पाँच हजार प्राप्त गरेका छन् ।
विजेता तथा उपविजेतालगायतलाई झापा ११ फूटवल क्लवका अध्यक्ष जलकुमार गुरुङले नगद तथा ट्रफी प्रदान गरे । प्रतियोगिता बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा भएको थियो ।
भूतपूर्व सैनिकहरुबीच एकता तथा सुमधुर सम्बन्ध बनाउने उद्देश्यले बडादसैँको अवसर पारेर मैत्रीपूर्ण प्रतियोगिताको आयोजना गरिएको आयोजकका अध्यक्ष डिके गुरुङले बताए ।