दमक, २८ असोज । नेकपा एमालेका तर्फबाट झापा , क्षेत्र न. ५ प्रदेश ( क) का उम्मेदवार हिक्मतकुमार कार्कीले झापाको कमल ५ पाडाजुंगीमा निर्माणको चरणमा रहेको आदिबासी रंगशाला सोहि ठाउँमा बनाई छाड्ने ठोकुवा गरेका छन् ।
प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेका कार्कीले कुनै पनि विवाद वा बहानामा दूरगामी महत्वका योजना प्रभावित पार्न नहुने भन्दै सो रंगशालाको निर्माण नरोकिने स्पष्ट पारेका छन् । आफू र आफनो पार्टीले सरकार बनाए आदिवासी रंगशालाले पूर्णता पाउने उनको भनाई थियो ।
रंगशाला निर्माणकै लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले आफ्नो पहलमा एक करोड रुपैयाँ बिनियोजन गरेको दावी गर्दे पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका उम्मेदवार कार्कीले आफु यसै क्षेत्रको जनप्रतिनिधी भएको नाताले शुरु गरिएका योजना रोक्न नहुने भन्दै बजेट बिनियोजनमा पहल गरेको बताए ।
एमाले निकट लोकतान्त्रिक आदिबासी जनजाति महासंघले केर्खामा आज आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा उनले कमलमा बन्ने रंगशाला दमक वा अन्यत्र काँहि पनि नसरेको जिकीर गरे ।
उनले कमलमा बन्दा अन्यत्र रंगशाला बन्न नहुने भन्ने नहुने भन्दै रंगशाला निर्माण तथा सो स्थानमा रहेका समाधिस्थल रहेका व्यक्तिहरुको सम्मानमा स्मारक समेत बनाईने बताए ।
यसैगरि आफ्नो पहलमा प्रदेश १ मा नेपालका सवै जात जातिको पहिचान समेटिने वृहत रंगशाला निर्माणको योजना प्रदेश सरकारले योजना बैकमा समावेश गरेको जानकारी दिँदै जग्गाको व्यवस्थापन हुन सके पश्चिमी झापामानै सो योजना पनि कार्यान्वयन गर्ने बताए ।
कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य भिम केरुङ्, महासंघका केन्द्रीय सदस्य चन्द्र सुव्वा लगायतले आगामी निर्वाचनमा अनुहार भन्दा एजेण्डा बोक्न सक्ने उम्मेद्वार बिजयी हुनु पर्ने औल्याए ।