केर्खा,२५ असोज । झापाको कमल गाउँपालिकाको केर्खास्थित रतुवा माई वृक्षारोपण आयोजनामा रहेका विभिन्न जातका रु १ करोड बराबर मूल्यका विभिन्न जातका काठहरु खेर जाने अवस्थामा पुगेको छ । बर्षदिन अघि कटान गरि राखिएका ती काठहरु समयमै विक्री नहुदाँ विस्तारै काम नलाग्ने अवस्थामा पुगेको हो ।
आयोजनाका निमित्त प्रमुख भक्तिप्रसाद गौतमका अनुसार आयोजनासंग अहिले केर्खा र झिलझिलेमा करिव ९ हजार क्वीफिट विक्रीयोग्य काठ थन्किएका छन् ।वनपैदावर मध्ये ५हजार ३ सय ७३ क्वीफिट काठ, ३हजार ४ सय ३ क्वीफिट पोल र वल्ली र ३.७५ क्वीफिट दाउरा रहेको आयोजना निमित्त प्रमुख गौतमले जानकारी दिए । ती काठको वजार मूल्य रु ८८ लाख ७ हजार ९ सय ९४ रहेको छ । विक्रीयोग्य वनपैदावर मध्ये रु ७८ लाख ४७ हजार ३ सय ७४ मूल्यका काठ, रु ७ लाख ५३ हजार ६ सय २० मूल्यका पोल र वल्ली र रु २ लाख ७ हजार मूल्य बराबरका दाउरा छन् ।
ती सवै वनपैदावरहरु सरकारले ल्याएको हर्वस कार्यक्रमका कारण करिव २७ प्रतिशत मूल्य बृद्धिभएपछि काठ समयमै विक्री नहुदाँ खेर जाने अवस्थामा पुगेको उनले बताए । उनले अव छ महिना भित्रमा ती काठहरु विक्री भएन भने दाउराका रुपमा मात्र उपयोग गर्न सकिने बताए ।