धरान,२५ असोज। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखि बढुवा रोकिएको भन्दै १७७ जना डाक्टरले शुक्रबारबाट लागू हुनेगरि सामूहिक राजीनामा दिएका हुन् ।
चिकित्सक र कर्मचारीको बढुवा रोकिएपछि आन्दोलनरत चिकित्सकले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामापत्र बुझाए बताइएको छ ।चिकित्सकको टोलीले राजीनामाबारे प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डलाई समेत जानकारी दिइएको प्रतिष्ठानस्थित शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानले जानकारी दिए । भेटमा प्रधानमन्त्रीसँग चिकित्सकहरुले विगत दुई वर्षमा ५० भन्दा बढी योग्य चिकित्सकले प्रतिष्ठान छाडेको जानकारी गराएका छन् । प्रतिष्ठानका विभिन्न विभागमा प्राध्यापक तहका चिकित्सक नहुँदा चिकित्सा अध्ययनसमेत प्रभावित भएको चिकित्सकहरुले बताएका छन् ।
चिकित्सकसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव डा.वैकुण्ठ अर्याललाई लोकसेवासँग समन्वय गरी समस्या समाधान गर्न निर्देशन दिएका छन् ।
यसअघि स्वास्थ्य सचिवसँगको भेटमा चिकित्सकले आफ्ना समस्या राखेका थिए ।