
दमक,२६ असोज । दसैंमा धेरैजसो परिवारमा पारिवारिक पुनर्मिलनको सुखद क्षण वितिरहेको बेला दमक– ७ सयपत्री टोलकी ७९ वर्षीया मनमाया भुजेलको भने पीडा बल्झिने गर्छ ।
विगत १२ वर्षअघि विदेश जाने पैसाको अभावमा घरबाट विरक्तिएर हिँडेको २० वर्षीय कान्छो छोरो लालबहादुर आजसम्म पनि घर नफर्किदा उहाँलाई यसपालीको दसैंले पनि खुशी दिन सकेन् । दुई वर्षअघि जेठो छोरा लीलामणिको मृत्यु भयो । गत असारमा पति वीरबहादुरको निधन भयो । जेठी बुहारी बितेको धेरै वर्ष भइसक्यो । अहिले जेठो छोराकी छोरी मनमायाकी एक मात्र सहारा हुन् ।
पारिवारिक वियोगको यो दुर्दशामा परेकी मनमायालाई छोरो लालबहादुर भारततिर गएको भन्नेसम्म गाउँलेहरुले सुनाउँछन् । तर कुन ठाउँमा छन् र के कस्तो अवस्थामा छन् भन्ने कसैले सूचना दिनसकेका छैनन् । बुढेसकालको सहारा कान्छो छोरा लालबहादुर फर्किने आशामा बाटो हेर्दाहेर्दै मनमायाका आँखा दुखिरहेका छन् तर छोरा आएनन् । उनले छोरा यतिका वर्ष घर नर्पिmँकदा मनमा सधैं पीडा बोक्नु परेको सुनाउछिन् ।
उनी भन्छिन् , “यतिका वर्ष भइसक्यो, बेपत्ता भएको छोरोको अवस्था पत्तो लाग्न सकेको छैन् ।” उनले बेपत्ता छोराको खोजीका लागि हारगुहार गरे पनि यतिका वर्ष बित्दासमेत अवस्था पत्ता लाग्न नसकेको गुनासो गरिन् ।
दसैंमा हराएको छोराको सधैँभरि सम्झना आउने वृद्धा मनमायाले बताईन् । दमक– ७ का वडाध्यक्ष भीमप्रसाद पौडेल मनमायाको समस्या र पीडालाई बुझेर नै आफूले सक्नेसम्मको सहयोग गर्दै आएपनि छोरोको बारेमा अत्तोपत्तो लाग्न नसकेको बताउँछन् ।
भारततिर मजदूरी गर्न गएको भन्ने सुनिए पनि त्यसपछि नर्फिएको भुजेल परिवारका छिमेकी वडाध्यक्ष पौडेल भन्छन् ,“लालबहादुरलाई जहाँ जे जस्तो अवस्थामा भेटे पनि घर फर्किने वातावरण बनाइदिन अपिल गरिआएका छौ।”