झापा, २५ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले देशको सांस्कृतिक ,भाषिक विविधता हाम्रा साझा सम्पत्ति भएकाले त्यसको संरक्षण र विकासमा सवै लाग्नु पर्ने बताएका छन् ।
झापाको कनकाई नगरपालिकाको खेलकुद प्रतिष्ठानले आयोजना गरेको सन्थाल सांस्कृतिक उत्सव तथा नृत्य प्रतियोगिताको उद्घाटन गर्दे मन्त्री दाहालले बहुजातिय,बहुभाषी नेपालको विविधता विश्वकै उदाहरणीय भएको औल्याए । वडादशैंका अवसरमा विहिवार आयोजित दशैं विशेष सन्थाल सांस्कृतिक उत्सवलाई सम्बोधनका क्रममा उनले सवै जातिका संस्कार र संस्कृतिको संरक्षण गर्न हामी सवैको दायित्व भएको जोड दिए ।
उनले सन्थाल समुदाय देशकै लोपोन्मुख जाति भएकाले उनीहरुलाई राज्यको मूल प्रवाहमा समेट्न जरुरी भएको उल्लेख गरे । देशका स्थानीय ,प्रदेश तथा संघीय सरकारले त्यस्ता समुदायको उत्थानका लागि एकीकृत कार्ययोजना बनाएर अघि बढ्न सकेमात्र परिवर्तन संभव हुने उनको भनाई थियो ।
उनले देशका सवै जातजाति समुदायको सांस्कृतिक पहिचान र सभ्यता जगेर्ना गर्न सके मात्र राष्ट्रिय एकता सुढृण मात्र नभएर बलियो हुने उल्लेख गरे ।
त्यस अवसरमा सन्थाल समुदायले आफना कला,संस्कृतिमूलक नृत्यहरु प्रस्तुति दिएर थप मनोरञ्जन प्रदान गरेका थिए ।
दशैंका अवसरमा जिल्लाका कन्काईसहित कमल,गौरादह,गौरीगञ्ज, गरामनी लगायतका सन्थाल बसोबास स्थलका पालिकाहरुमा सन्थालको आर्कषण रहने गरि सांस्कृतिक मेला,उत्सवहरु लाग्ने गरेको छ । दशैं अवधि भरि लाग्दैआएका घरेलु यस्ता मेलामा सन्थालका नृत्य टोलीले बिशेष प्रस्तुति दिदैआएका छन् ।