द एभरेष्ट सहकारीको १२ औं साधारण सभा समापन

दमक,२४ असोज । झापाको दमक -६ स्थित बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको आफनो इकाइगत १२ औं बार्षिक साधारण सभा बुधबार समापन गरिएको छ ।
विभिन्न सेवा केन्द्रहरु मार्फत शुरु भएको संस्थाको १२ औं साधारण सभाको आज निर्णय एकीकृत तथा प्रमाणिकरण गर्दै सभा सम्पन्न गरिएको सचिव ज्ञाननाथ पौडेलले बताए । दमकस्थित दमक उद्योग वाणिज्य संघको सभाकक्षमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँको प्रमुख आतिथ्यमा भएको साधारण सभा समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख भट्टराईले सहकारीहरुमा मात्रै नभएर समग्र व्यवसायिक क्षेत्रनै आर्थिक मन्दीको प्रभावमा परिरहेको बताउँदै अप्ठयारो अवस्थाको सबैले मिलेर सामना गर्नुपर्ने बताइन् । उनले सहकारी संस्थाहरुको नियमन तथा अनुगमन प्रभावकारी रुपमा अघि बढाउन स्थानीय सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरिन् ।
संस्थाका अध्यक्ष दिपक खरेलले बार्षिक प्रतिवेदनका बिषयमा प्रकाश पार्दै संस्थाले चलाएका अधिकाशं बचत कार्यक्रमहरुमा सक्रिय सहभागिताका लागि सदस्यहरुलाई आव्हान गरे । उनले कर्जा लगानीको ब्याज तथा साँवा रकम असुलीमा संस्थाले सुक्ष्मरुपमा काम गरिरहेको बताउँदै आर्थिक प्रगति भन्दा संस्थाका सदस्यहरुको सेवालाई प्राथमिकता दिइएको बताए ।सभामा लेखा समिति संयोजक ताराप्रसाद अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाको उदघाटन कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, पूर्व अध्यक्ष विजयप्रसाद बराल, सहकारी मेनेजर्स क्लब झापाका अध्यक्ष खोमप्रसाद बगाले लगायतले संस्थाबाट कर्जा लिने र संस्थामा बचत गर्ने उस्तै सदस्यहरु भएको बताउँदै कर्जा तिर्नुपर्ने दायित्वबाट कोही पनि उम्किन नसक्ने उल्लेख गरे ।
सभामा संस्थाका उपाध्यक्ष रोशन गौतमले स्वागत मन्तव्य राख्दै संस्थाका सदस्यहरुले गरेको विश्वासलाई कुनैपनि हालतमा टुटन नदिने प्रण गर्दै असहज परिस्थितिमा सबैलाई साथ दिन आग्रह गरे ।
पाउनु पर्ने २ करोड ९२ लाख २८ हजार ९९७ रुपैया
संस्थाको मुख्य कार्यालयसहित झापाको केर्खा, सुरुंगा, विर्तामोड , बुधबारे र मोरंगको उर्लावारीमा गरि ५ वटा सेवा केन्द्रमा कुल ५ हजार ४ सय ९८ जना शेयर सदस्य छन् । संस्थाका व्यवस्थापक धर्मानन्द भट्टराईका अनुसार गएको आर्थिक बर्षसम्म शेयर पूंजी ५ करोड ८५ लाख ६६ हजार २ सय ५०, जगेडा कोष २१ करोड ५६ लाख ४ हजार ३ सय २७, निक्षेप ३९ करोड ८२ लाख ७८ हजार ८७६ ,बाह्य ऋण ३ करोड २५ लाख २१ हजार २ सय १४ ,कर्जा लगानी ४७ करोड ५५ लाख ४५ हजार ८ सय ६६, सम्पत्ती ४ करोड ६९ लाख ३४ हजार ३४ र पाउनु पर्ने २ करोड ९२ लाख २८ हजार ९९७ रहेको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.