
सोलु, २५ असोज । सोलुखुम्बुका अधिकांश सरकारी कार्यालय दशैं बिदा अगावै कार्यालय प्रमुख बिहिन बनेका छन्। बिदा हुनु करिब एक साता अघिदेखिनै कार्यालय प्रमुखले तल्लो तहका कर्मचारीलाई जिम्मेवारी सुम्पँदै कार्यालय छोडेका हुन्।
यस वर्षको दशैं बिदा असोज २६ गतेदेखि भएपनि अधिकांश कार्यालयका प्रमुख असोज २२ गतेदेखि नै कार्यालयमा अनुपस्थित रहेको सम्बन्धित कार्यायलका कर्मचारीले बताएका छन्। केही कार्यालयका प्रमुखबाहेक प्रायले विभिन्न बहानामा बिदा लिएर घर जाने विगतको प्रथाले यस वर्ष पनि निरन्तरता पाएको कर्मचारी स्रोतको भनाई रहेको छ।
बिदा अगाडिनै कार्यालय छाड्ने प्रमुखहरुमा जिल्ला अदालत, सरकारी वकिल, जिल्ला हुलाक, मालपोत कार्यालय, बागबानी केन्द्र, जिल्ला जनगणना कार्यालय, नेपाल टेलिकम, खाद्य तथा व्यापार कम्पनी लिमिटेड, कोष तथा लेखा नियन्त्रणको कार्यालय, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका हुन्। यी कार्यालयका प्रमुखहरुमध्ये अधिकांश आइतबारदेखि कार्यालयमा हाजिर भएका छैनन्। केही प्रमुख एक साता अघिदेखिनै अनुपस्थित छन्।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले व्यक्तिगत समस्याका कारण कार्यालय प्रमुखहरु घर बिदामा गएको स्वीकार गरेका छन। कर्मचारी बिदामा बसेको भए पनि कुनै पनि सेवा प्रभावित नभएको प्रमुख जिल्ला अधिकारी शाहीको प्रतिक्रिया रहेको छ । उनले सेवा नै प्रभावित भएको पाइएमा कारवाही गरिने बताए।
सरकारी नियम अनुसार तोकिएको दशैं बिदा असोज २६ गते देखि ३० गते सम्म उल्लेख गरिएको छ । तर, बिदा अगावै कार्यालय छाड्ने र बिदा सकिएको केही दिन ढिला गरी हाजिर हुने चलन रहेको छ।