झापा, २४ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एक सय एकजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नौजना मात्र महिलाको उम्मेदवारी परेको छ ।
पाँचवटा क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी उम्मेदवारी क्षेत्र नं ५ बाट परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विभिन्न राजनीतिक दलबाट ६८ जनाले र स्वतन्त्रबाट ३३ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत वीरेन्द्र बस्नेतले जानकारी दिए। उनका अनुसार क्षेत्र नं १ बाट १६, क्षेत्र नंं २ मा २०, क्षेत्र नं ३ मा १८, क्षेत्र नं ४ मा २०, क्षेत्र नं ५ मा २७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी प्रदेशसभाका १० पदका लागि एक सय छजनाको उम्मेदवारी दर्ता भएको छ । जसमा प्रदेश नं १ को (क ) मा छ, (ख ) मा १२, क्षेत्र नं २ को (क ) र (ख )मा १०–१०, क्षेत्र नं ३ को (क ) मा आठ, (ख ) मा ११, क्षेत्र नं ४ को (क ) मा १० (ख) मा १२, क्षेत्र नं ५ को (क ) मा ११, (ख ) मा १६ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
झापामा तीन राजनीतिक दलका शीर्षनेता उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा होमिएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली क्षेत्र नं ५ बाट, कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन क्षेत्र नं ३ बाट र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरी चुनावी अभियानमा होमिएका हुन् ।
मोरङमा महिला उम्मेदवारको सङ्ख्या न्यून
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङमा महिला उम्मेदवारको सङ्ख्या न्यून रहेको छ ।
मोरङमा रहेको कूल छ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि आइतबार विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी जम्मा एक सय आठ जनाको उम्मेदवारी कायम रहेको छ । उम्मेदवार मध्ये प्रतिनिधिसभा सदस्य पदका लागि राजनीतिक पार्टी र स्वतन्त्रबाट गरी जम्माजम्मी १२ जना महिलाको मात्र उम्मेदवारी परेको छ ।
प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार मोरङ निर्वाचन क्षेत्र नं। १ बाट राजनीतिक दल र स्वतन्त्रबाट १० पुरूष र पाँच जना महिला गरी कूल १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनमा उम्मेदवारी दर्ता गराउने पाँच महिलामा राष्ट्रिय जनमुक्ति पार्टीबाट बुद्धमाया लिम्बू र स्वतन्त्रबाट निलु लिम्बू, फूलकुमारी पण्डित राई, मनिसा सुवेदी र सुजता थापा छन् । जिल्लाका अन्य क्षेत्र भन्दा क्षेत्र नं १ बाट सबैभन्दा बढी सङ्ख्यामा महिलाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र नं। २ बाट राजनीतिक दल र स्वतन्त्रबाट ११ पुरूष र दुई महिला गरी कूल १३ जनाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । महिलामा चार दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सुजाता कोइराला र नेश्नलिष्ट पिपल्स पार्टीकी मिना कटुवाल बुढाथोकीले मात्र उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र नं। ३ बाट राजनीतिक दल र स्वतन्त्रबाट सबैभन्दा धेरै ३१ जनाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउने ३१ जनामध्ये चार जना महिलाले उम्मेदवारी दिएका छन्।
उम्मेदवारी दर्ता गराउने महिलामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेखा थापा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट चन्द्रिकादेवी लिम्बू र स्वतन्त्रबाट इन्दिरा थापा र चन्द्रकला खत्री छन् ।
निर्वाचन क्षेत्र नं. ४ बाट भने प्रतिनिधी सभाका लागि एकजना पनि महिला उम्मेदवार नरहेको निर्वाचन कार्यालयले जनाएको छ । यो निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी पत्र दर्ता गराउने कूल १७ सबै पुरूष छन् । निर्वाचन क्षेत्र न. ५ बाट भने एक महिलाले मात्र प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । यस क्षेत्रबाट राजनीतिक पार्टी र स्वतन्त्र गरी कूल १६ उम्मेदवार रहेकोमा महिलामा सञ्जु शर्मा बडईले स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएकी छिन्।निर्वाचन क्षेत्र न.६ मा राजनीतिक पार्टी र स्वतन्त्रबाट कूल १६ जनाले उम्मेदवारी दिएका छन् ।