दमक,२३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा -५ मा नेपाली कांग्रेसले बौद्धिक व्यक्तित्व डा. खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको छ ।
सत्तारुढ गठबन्धनबीच सिट बाँडफाडमा क्रममा झापा–५ आफ्नो भागमा परे पछि कांग्रेसले ओलीविरुद्ध यसपटक फेरि अधिकारीलाई उम्मेदवार बनाएको हो ।
झापा -५ को संघीय निर्वाचनका लागि डा.अधिकारीसहित नेता पदम पौडेल, कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूको नाम सिफारिस भएको थियो । ती उम्मेदवार वीच सहमति जुटाउन गएराति अवेरसम्म बालुवाटारमा छलफल भएको बुझिएको छ ।
२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा पनि हेबी वेट ओलीसँग उनले कडा प्रतिष्पर्धा गरेका थिए। त्यसबेला माओवादी,राप्रपासहितको गठबन्धनबाट उम्मेदवार भएका ओलीसंग कांग्रेसका अधिकारीले एकल प्रतिष्पर्धा गरेका थिए ।
झापा -५ कै प्रदेशसभाको दुई क्षेत्रमध्ये एक कांग्रेस एक माओवादी केन्द्रले पाएको छ । जसमध्ये ५ (क ) मा कांग्रेस प्रदेश सभापति समेत जीवन राई र ५ (ख )मा माओवादी केन्द्रका युवा नेता रेवत राज पुरी (गगन ) लाई उम्मेदवार बनाएको छ ।सत्तारुढ गठबन्धनले आज दिउँसो १२ वजे दमकको गणतन्त्र चौकमा भेला भई मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको कांग्रेस क्षेत्रीय सचिव धर्मानन्द भटटराईले बताए ।
