झापा, २२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा -५ मा नेपाली कांग्रेसले पदम पौडेललाई उम्मेदवार बनाउने भएको छ ।
सत्तारुढ गठबन्धनबीच सिट बाँडफाडमा क्रममा झापा–५ आफ्नो भागमा परे पछि कांग्रेसले ओलीविरुद्ध पौडेललाई उम्मेदवार बनाउने भएको हो । हेबी वेट ओलीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले कांग्रेसले बलिया तथा लोकप्रिय उम्मेदवारका रुपमा चिनिएका पौडेललाई उम्मेदवार बनाउन लागेको कांग्रेस स्रोतले जनाएको छ । झापा ५ सहित कांग्रेसले संघ तथा प्रदेश सभाका सबै उम्मेदवारहरु आज साँझसम्म टुङ्गो लगाई सक्ने जनाएको छ।
झापा–५ मा पर्ने तत्कालीन तोपगाछी गाविसका तीन पटक अध्यक्ष समेत भइसकेका पौडेललाई कांग्रेसले उम्मेदवार बनाउने तयारी गरेको बुझिन्छ । २०७४ मा एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेका पौडेललाई पार्टीले संघ तथा प्रदेशसभाको निर्वाचन ताका केन्द्रीय निर्वाचन परिचालन समितिको सदस्यको जिम्मेवारी दिएको थियो ।
झापा ५ कै प्रदेशसभाको दुई क्षेत्रमध्ये एक कांग्रेस एक माओवादी केन्द्रले पाएको छ । जसमध्ये ५ ( क) मा कांग्रेस प्रदेश सभापति समेत जीवन राई र ५ ( ख) मा माओवादी केन्द्रका युवा नेता रेवत राज पुरी ( गगन ) लाई उम्मेदवार बनाउने भएको बुझिएको छ ।