एड्भान्समा घुँडाको जोर्नीको सफल प्रत्यारोपण

दमक ,२२ असोज । अत्याधुनिक प्रबिधि र दक्ष चिकित्सकको उपलब्धता हुन थालेसंगै दमकमा रहेको एड्भान्स अस्पतालमा घुँडाको जोर्नीको प्रत्यारोपण हुन थालेको छ ।
अस्पतालका हाडजोर्नी तथा नशा रोग बिषेशज्ञ डा.अनुप पोखरेलले प्रदेश नम्बर १ को बिराटनगर र धरानपछि दमकमै पहिलो पटक घुँडाको जोर्नी प्रत्यारोपण गरेका हुन् ।
झापा ,कमल ६ की ६५ बर्षिया जमुनादेवी भण्डारीको दमकस्थित एड्भान्स अस्पतालमा घुँडाको जोर्निको सफल प्रत्यारोपण गरिएको हो । धेरै ठाउँमा उपचार गराए पनि निको नभएको घुँडाको समस्या समाधानका लागि डा. पोखरेलले जोर्नी प्रत्यारोपण गर्नु पर्ने बताएपछि भण्डारी परिवार चिन्तित बनेको थियो । केहि खर्चिलो र जटिल खालको शल्यक्रिया भएकाले पनि दमकमै उपचार हुन सक्नेमा शंका लागे पनि डा. पोखरेलको परामर्शपछि यहिँ उपचार गर्न राजी भएको भण्डारीले बताए ।
भण्डारीको घुँडाको हड्डी पुरै खिइएर समस्या बढेकाले जोर्नी प्रत्यारोपण गरिएको डा. पोखरेलले बताए । उनका अनुसार यो प्रविधिबाट झापामा पहिलो पटक उपचार भएको हो । प्रदेश १ मै धरान र बिराटनगरमा मात्रै यो प्रबिधिबाट उपचार भैरहेको उनले बताए ।
शल्यक्रिया पछि धातुको कृतिम घुँडा लगाईएको डा. पोखरेलले बताए । बिरामी भएर तिन महिना देखी ओछ्यान परेकी भण्डारी अहिले अन्य समान्य मानिश सरहनै हिँडडुल गर्न सक्ने भएकी छिन् ।
मानिसमा बुढ्यौलीका कारण, बिभिन्न रोग लागेपछि र शरीरको वजन धेरै हुँदा पनि घुँडा खिईने समस्या देखिने गरेको डा. पोखरेलले बताए । समयमै उपचार गरेमा औषधि वा थेरापीले र धेरै जटिल समस्या भएमा शल्यक्रिया मार्फत बिरामीको उपचार गर्न सकिने उनले बताए ।

Leave a Reply

Your email address will not be published.