चुलाचुलीमा स्वास्थ्य सेवा सहज बन्दै

चुलाचुली,२० असोज । इलामको दक्षिणवर्ती क्षेत्र चुलाचुली गाउँपालिकामा आधारभुत स्वास्थ्य सेवा सहज बन्न थालेको छ ।स्थानीय सरकारले गएको माघदेखि चुलाचुली आधारभुत अस्पताल सञ्चालनमा ल्याएको र लगत्तै फागुन २ गतेदेखि स्वास्थ्य बीमाको समेत उपचार सेवा दिन थालेपछि सर्वसाधारणलाई यो सेवा लिन सहज बनेको हो ।पालिकाका कतिपय बासिन्दा त्यसअघि स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएपनि सेवाका लागि प्रथम विन्दु टाढा हुँदा हैरान थिए ।

आधारभुत अस्पताल स्थापना लगत्तै स्वास्थ्य बीमाको कार्यक्रम लागू भएपछि यहाँ स्वास्थ्य परिक्षण र उपचारका लागि आउने सर्वसाधारणको संख्या दिनहुँ बढदो दरमा रहेको गाउँपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दुष्यान्त दाहालले जानकारी दिए । उनका अनुसार अस्पताल स्थापनाको ९ महिनामा करीब ३ हजार बिरामीले सेवा लिएका छन् । हरेक दिन कम्तीमा ५० देखि १५० जना सम्मले सो अस्पतालबाट सेवा लिँदै आएका छन् ।
सो अस्पतालबाट हाल २४ सै घण्टा इमर्जेन्सी सेवा, एक्सरे, भिडियो एक्सरे, इसिजी, ल्याब, फार्मेसी लगायतका सेवा प्रदान गरिँदै आएको छ ।गाउँपालिकाको प्रशासनिक भवनकै पहिलो तलामा सञ्चालन गरिँदै आएको चुलाचुली आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट शुरु गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।

भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेकाले छिट्टै यसलाई पूर्णता दिएर सुविधा सम्पन्न अस्पतालबाट सहज रुपमा सेवा प्रदान गर्ने तयारीमा स्थानीय सरकार लागिरहेको अध्यक्ष केरुङको भनाई छ ।
उनका अनुसार पालिकाले दुर्गम भेगका नागरिकहरुको सेवालाई मध्यनजर राख्दै छिट्टै दुई वटा एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरिरहेको छ ।गाउँपालिका भित्रका दुई वटा वडामा रहेका स्वास्थ्य चौकीमा प्रसुती सेवा समेत दिन सक्ने व्यवस्था मिलाइएको छ ।
वडा नं २ को बाह्रगोठे स्वास्थ्य चौकी र ३ स्थित पेल्टीमारी स्वास्थ्य चौकीमा प्रसुति सेवा समेत दिन सक्ने गरिको व्यवस्था मिलाइएपनि अहिले यातायातको सहज पहँुचका कारण प्रसुति गराउने ९० प्रतिशत महिलाहरु भने सुरक्षित र सुविधायुक्त सेवा लिन छिमेकी पालिका दमक लगायतका अस्पतालहरुमा जाने गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published.