शिवसताक्षीमा मोटरसाइकल दुर्घटना, दुई बर्षिया बालिकाको मृत्यु

झापा, २० असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी १ फुलवारी चोकमा भएको सवारी दुर्घटनामा परी एक दुई वर्षिया बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार हिजो दिउँसो २.२० बजे शिवसताक्षी फुलवारी चोकस्थित सडकखण्डमा पूर्वतर्फ आउँदै गरेको प्र १–०१–००२ ह ७२९ नं को सिटी सफारी दक्षिणबाट उत्तरतर्फ क्रस गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको प्र १–०१–०१३ प ७३०८ नं को मोटरसाइकलसंग एकापसमा ठक्कर खादाँ दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति २ बस्ने ३५ वर्षिय कमल मिश्रको बाहिरी चोट नदेखिएको ,सोही मोटरसाइकलको पछाडी सवार उनकी श्रीमती २७ वर्षिया संगीता मिश्रको टाउको तथा शरीरको बिभिन्न भागमा चोट लागेको र उनीहरुका २ वर्षिया छोरी संस्कृति मिश्रको बायाँ हातको कलाईको भाग चुँडिएर बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेकोमा आज बिहान ५.३० बजे घाइते बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

दुर्घटनापछि मोटरसाइकल, सिटी, सिटी चालक शिवसताक्षी १ बस्ने ६० वर्षिय पदम पाण्डेलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको डिएसपी पाठकले जानकारी दिए ।

बारामा बस दुर्घटना, ८ जनाको मृत्यु

यसैगरि मकवानपुरको बारामा बिहीबार बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब ११ बजे भएको सो दुर्घटनामा २५ जना घाइते भएका छन् ।

नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बस सडकबाट तल खोलामा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं एसपी होविन्द्र बोगटीका अनुसार दुर्घटना लगत्तै प्रहरी टोली उद्धारमा खटिएको थियो । घाइतेलाई हेटौंडा अस्पताल र सिमरास्थित अल्पाइन अस्पतालमा उपचारका लागि लगिएको उनले बताए ।

उद्धारमा संलग्न प्रहरीले दुर्घटनामा ८ जनाको मृत्यु भएको जानकारी दिएपनि अस्पतालले भने पुष्टि गर्न बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published.