
पथरीशनिश्चरे, १९ असोज। मोरङको पथरीशनिश्चरे नगरपालिका- ५ हसन्दह शान्ति चौक क्षेत्रको धानबालीमा खैरो फड्के किराको प्रकोप नियन्त्रण भएको छ ।
कृर्षि प्राविधिकहरुको टोलीले अनुगमन गरेपछि उक्त प्रकोप नियन्त्रणमा आएको हो ।स्थानीय ठगेन्द्र राउतको १ विगाहा, कमलबहादुर अधिकारीको १५ कठठा र दिलबहादुर राउतको ८ कठठा जग्गाको धानमा खैरो फड्के किराको प्रकोप देखिएको थियो । उनीहरुले प्राविधिक जाँचका लागि नगरपालिका कार्यालयमा निवेदन दिएपछि त्यहाँको अवस्था जाँच गर्दा खैरो फड्के किराको प्रकोप फैलिएको पाइएको थियो । जसका लागि शाखाले वडामार्फत विषादीको प्रवन्ध गरेपछि किरा नियन्त्रणमा आएको नगरको कृषि शाखा प्रमुख सावित्रा कार्कीले बताए ।शाखा प्रमुख कार्की, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल सहितको प्राविधिक टोलीले अनुगमन गरेको थियो ।
यो किराले आफ्नो सियो जस्तो मुखले पात र पातको आधारबाट रस चुस्ने गर्दछ । जसबाट धान पुरै डढेको लागेजस्तो सुकेको देखिन्छ । यसलाई हपरबर्न पनि भनिन्छ । यिनीहरु चुसाहा प्रवृति यति घातक हुन्छन् । बोटको धेरै तन्तुहरुमा धेरै घाउहरु लाग्दछ र घाउबाट अन्य हानिकारक सुक्ष्म जीवाणुको संक्रमण भइ धेरै रोगहरु समेत पैदा हुन्छ । यो किरा भाइरस रोगको प्रमुख कारक समेत मानिने शाखा प्रमुख कार्कीले जानकारी गराए । धान रोप्दा धेरै गाँज नरोप्ने, गाँजको घनत्व कम गर्ने , ३–४ दिनमा पानीको सतह घटाउने बढाउने, धान बालीमा भ्यागुताको संख्या बढाउने, माछा पालन गर्नाले यस्तो रोग लाग्नबाट बचाउन सकिने बताए ।
यस किराको संक्रमण हुने वित्तिकै प्रांगारिक विधिका रुपमा मेट्राइजिम एनिसोप्लेइमा निमको तेलमा मिसाई छर्ने र रासायनिक बिधि अन्तर्गत इमिडाक्लोप्रिड, एसिफेट, पेक्सालोन नामक बिषादी जुन १ एम एल वा १ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने गर्नुपर्दछ । अघिल्ला वर्षहरुमा पनि हसन्दह क्षेत्रमा फड्के किराको प्रकोप देखिएको थियो ।