महाधिवेशन प्रतिनिधिको चर्चामा युवा उम्मेदवारहरु

-बिष्णु पौडेल
दमक,१९ असोज ।
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको प्रतिनिधिका लागि झापाको क्षेत्र नं ५ मा केही जुझारु र बैचारिक क्षमता भएका युवा पुस्ताका नेताहरु चुनावी मैदानमा उत्रिएका छन ।

लामो समयदेखि कांग्रेसले पकड गुमाएको तथा नेकपा एमाले र राप्रपाको दबदबामा बसेको झापाको माइपशिचम क्षेत्रको यो भुगोलमा उनीहरुको सक्रियताले पार्टी भित्र नयाँ उर्जा पैदा गरिदिएको कतिपयको बुझाई छ । सक्षम, सवल र तार्किक क्षमतावान युवा पुस्ताले पार्टीमा बढेको कार्यकर्ताहरुको नैराश्यतालाई कम गर्दै उत्साह पैदा गर्ने विश्वास युवा पुस्ताको छ ।

महासमिति, महाधिवेशन प्रतिनिधि तथा जिल्ला तहको विभिन्न जिम्मेवारीको अनुभवसहित मैदानमा उत्रिएका करिब एक दर्जन युवा पुस्ताका नेताहरु महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रुपमा कोही खुल्ला तथा कोही विभिन्न आरक्षित कोटा ( क्लस्टर) बाट पनि अघि सरेका छन ।

बिद्यार्थी राजनीतिबाट उदाएका ति युवा नेताहरु मध्ये मेदनी प्रसाद सिटौला पार्टीका निवर्तमान महासमिति सदस्य हुन । कानुन संकायमा स्नातक अध्ययन गरी समाजशास्त्रमा स्नकोत्तर तह हासिल गरेका सिटौला कांग्रेसको स्थानीय राजनीतिमा बैचारिक बहस र क्षमता भएका नेता मानिन्छन । १४ औं महाधिवेशनका लागि दमक ९ बाट क्षेत्रीय प्रतिनिधि चुनिएका उनको सक्रियता खुल्ला तर्फ महाधिवेशन प्रतिनिधि बन्नेमा रहेको छ । आफनो जिबनको उर्जाशील समय लोकतन्त्र पार्टी ,देश र नागरिकका नाममा समर्पित गरेका सिटौला हाल सम्म अविवाहित छन । कांग्रेस र समग्र मुलुकको राजनीतिलाई शुद्धिकरण र सुदृढीकरण गर्दै आमूल परिवर्तन, रुपान्तरण र पुस्तान्तरण गर्नुपर्ने उनको बुझाई छ । यसैका लागि आफू पार्टीमा सक्रिय भुमिका निर्वाह गर्नका लागि आउन खोजेको उनको भनाई छ । उस्तै भावना र विचार राख्ने अर्का पात्र हुन कमलका स्थायीबासिन्दा हुकुमसिंह राई । नेपाल बिद्यार्थी संघको राजनीतिबाट उदाएर राई कम्युनिष्ट पार्टीको आधार क्षेत्र मानिने कमल गाउँपालिकाको अध्यक्ष पदमा एमालेकी नेतृ मेनुकासंग बराबर मत पाएर पनि गोला प्रथाका कारण गाउँपालिका अध्यक्षको कुर्सीबाट बाहिरिएका नेता हुन ।

……………………………………………………………

अधिकांश युवा नेताहरु समेत यस अघिका तल्लो तहका अधिवेशन प्रकृयामा प्रत्यक्ष संलग्न पनि भएका छन । उनीहरुले आफनो आफनो प्रयत्न प्रत्यक्ष रुपमै सफल भएको र कतिपयले बैचारिक रुपमा वा प्राविधिक रुपमा आफूहरु निर्णायक भएको तर्क गरिरहेका छन ।

…………………………………………………………………

अध्यक्षको जिम्मेवारी पाउन नसकेपनि जनताको मत उत्तिकै पाएको कारण उनले निर्वाचनपछिका बर्षहरुमा पनि आफूलाई कमलबासीका साथमा उभ्याएका छन । पारिवारिक पृष्ठभुमीनै कांग्रेससंग जोडिएका राईलाई कांग्रेस झापाको वृत्तमा स्थापित युवा नेताका रुपमा लिइन्छ । हाल कांग्रेसको झापा जिल्ला सदस्य तथा आदिवासी जनजाती विभाग झापाको प्रमुखको जिम्मेवारीमा समेत रहेका उनी एकताका कांग्रेस महाधिवेशनमा सबैभन्दा कान्छो महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी भएर पनि चर्चामा आएका थिए । राई फरक आस्था र विचारलाई समेत त्यागेर कांग्रेसको फराकिलो घरमा आउन चाहने जो कोहीलाई पनि क्षमता , अनुभव र योगदानका आधारमा सन्तुलित ब्यवहार गर्न सकेमात्रै कम्युनिष्टहरुसंग मुकाबिला गर्न सकिने तर्कसहित कांग्रेसको १४ औ महाधिवेशनमा आफू खुल्ला तर्फका १० महाधिवेशन प्रतिनिधि भित्र निर्वाचित हुने कसरतमा छन ।

झापाको पश्चिम दक्षिण भुगोल गौरीगञ्जमा रहेर कांग्रेसको राजनीतिसंगै जनप्रतिनिधिको जिम्मेवारी सम्हालिरहेका अर्का उदाउँदो नेता हुन दिपिन्द्र थापा । थापा गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएर जनप्रतिनिधिसंगै पार्टीको राजनीतिमा छन । पार्टीभित्र बिचारको बहसलाई प्राथमिकता दिनुपर्ने र युवा पुस्तालाई पार्टी सञ्चालनको जिम्मेवारी दिन सके परिवर्तन सम्भव भएको उनको बुझाई छ । कांग्रेसको राजनीतिमा उदाउँदो नेताका रुपमा आएका अर्का पूर्व बिद्यार्थी नेता हुन अइन्द्रविक्रम केरुङ । दमक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएर कम्युनिष्टहरुको दबदबा रहेको दमकमा एकताका पार्टी र संगठनको शिर उचो राख्न सफल भएका उनी १३ औं महाधिवेशनमा पनि प्रतिनिधि चुनिएका थिए । सुक्ष्म ढंगबाट पार्टी गतिबिधिमा सक्रिय रहेका उनी १४ औं महाधिवेशनमा पनि आदिवासी जनजाती कोटाबाट महाधिवेशन प्रतिनिधि चुनिएर जाने दाउमा छन । पार्टीमा युवा पुस्ताले अब हस्तक्षेप गरेरै भएपनि अघि बढनुपर्छ भन्ने सोच भएका केरुङसंगै सो कोटामा झापाकै शैक्षिक तथा सामाजिक र राजनीतिक क्षेत्रमा नाम चलेका व्यक्तित्व गौरीमान फागो, तरुण दल झापाका सभापति भुमिराज राई लगायतका उम्मेदवार चुनावी मैदानमा छन ।

महाधिवेशन प्रतिनिधि खुल्ला तर्फनै गौरादह २ का वडाध्यक्ष हेमन्त कार्कीको उम्मेदवारी पनि १४ औं महाधिवेशनमा चर्चाको केन्द्रविन्दुमा छ । नेविसंघबाट नै आफूलाई कांग्रेसको संगठनमा सक्रिय बनाएका उनी यस अघिनै पार्टीको गौरादह नगर नेतृत्वमा रहेर काम गरिसकेका व्यक्तित्व हुन । सामाजिक क्षेत्रमा पनि उनको सक्रियता उत्तिकै छ । कार्कीसंगै गौरादहका अर्का युवा व्यक्तित्व तथा झापामै सफल युवा व्यवसायीको पहिचान बनाएका भुपालराज कटुवाल पनि महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रुपमा मैदानमा उत्रिदैछन । खस आर्य कोटाबाट समेत युवा उम्मेदवारहरु प्रशस्तै चुनावी मैदानमा छन । कानुनसंगै समाजशास्त्रको अध्ययनमा स्नाकोत्तर हासिल गरेका नेविसंघ झापाका पूर्व नेता श्याम आचार्य पनि युवा पुस्ताको नेताका रुपमा उदाउँदै छन ।

नेविसंघको राजनीतिमा आफूलाई केन्द्रकै अग्रभागमा उभ्याएको दाबीसहित नेविसंघ केन्द्रिय उपाध्यक्ष तुलसा पन्त पनि यस क्षेत्रमा महिला खुल्ला तर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रुपमा प्रस्तुत भएकी छिन । उनी कमल ७ बाट क्षेत्रीय प्रतिनिधि चुनिएकी नेतृ हुन । यस्तै नेविसंघकै राजनीतिमा हाल सम्म सक्रिय रहेका पूर्व केन्द्रिय सदस्य निरज अग्रवाल पनि युवा पुस्ताका चर्चामा रहेका उम्मेदवार मध्ये एक हुन । गौरीगञ्ज ३ बाट क्षेत्रीय प्रतिनिधि चुनिएका उनी पनि खुल्ला तर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्नेमा छन ।

अधिकांश युवा नेताहरु समेत यस अघिका तल्लो तहका अधिवेशन प्रकृयामा प्रत्यक्ष संलग्न पनि भएका छन । उनीहरुले आफनो आफनो प्रयत्न प्रत्यक्ष रुपमै सफल भएको र कतिपयले बैचारिक रुपमा वा प्राविधिक रुपमा आफूहरु निर्णायक भएको तर्क गरिरहेका छन ।

युवा उम्मेदवारहरु जोडतोड साथ आफनो आफनो दृष्टिकोण र विचारसहित अघि बढिरहँदा कांग्रेस इतरका अन्य दलका स्थानीय नेताहरुमा समेत तरंग पैदा गरिदिएको विश्लेषण छ । भर्खरै सकिएको वडा तथा नगर अधिवेशनबाट पनि नेतृत्वमा सक्षम र सवल युवा पुस्ता नेतृत्वमा आएको उनीहरुको बुझाई छ ।

Leave a Reply

Your email address will not be published.