दमक,१६ असोज । दमक नगरपालिकाले नगरका अतिविपन्न तीन सय परिवारलाई बुधबार खाद्यान्न सामाग्रीहरु वितरण गरेको छ ।
नजिकिएको दशैतिहार चाडपर्वलाई लक्षित गरि नगरपालिकाले तीन सय परिवारलाई जनही रु ५हजार २ सय ५० मूल्यका चामल,तेल,दाल,नुन लगायतका आधारभूत खाद्य सामाग्रीहरु वितरण गरिएको नगरपालिकाको सामाजिक विकास शाखा अधिकृत केशव प्रसाईले बताए ।
उनका अनुसार वितरण गरिएको राहत सामाग्रीहरुमा ५० केजी मन्सुली चामल, २ केजी मुसुरो दाल, २ लिटर खानेतेल, २ केजी नुन ,सावुन ५ पिस उपलव्ध गराईएको हो । खाद्यान्न घरघरसम्म ढुवानीका लागि लक्षित परिवारलाई रु २सय रुपिया समेत प्रदान गरिएको थियो ।
नगरपालिकामा आज एक कार्यक्रम गरि ती राहत सामाग्रीहरु नगरप्रमुख रामकुमार थापा, उपपमुख रेगिना भट्टराई प्रसाई, पूर्व नगर प्रमुख रोमनाथ ओली,सामाजिक व्यक्तित्व शेरवहादुर भट्टराई लगायतले हस्तान्तरण गरे ।
नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट स्वीकृत ‘जहाँ विपन्न त्यहाँ खाद्यान्न’ भन्ने कार्यक्रम अन्तर्गत रु १५ लाख रुपियाको वजेटमार्फत ती खाद्यान्न वितरण गरिएको अधिकृत प्रसाईले जानकारी दिए ।
दमकका १० वटै वडा कार्यालयबाट सिफारिस भई आएका लक्षित परिवारलाई पहिलोपटक यस किसिमको राहत वितरण गरिएको नगर प्रमुख थापाले बताए । स्थानीय सरकार अतिविपन्न परिवारसंगै छ भन्ने अनुभूति दिलाउन यस किसिमको कार्यक्रमलाई अगामी दिनमा समेत निरन्तरता दिदै लैजाने उनको भनाई छ ।