दमक,१५ असोज । दमक नगरपालिकाको बजार अनुगमन समितिले आज वजार अनुगमनलाई तीव्रता दिएको छ ।आज पनि दमकका केही होटल तथा बेकरी उद्योगहरुमा अनुगमनलाई तीव्रता दिएको हो । अनुगमनका क्रममा गम्भीर लापरबाही गरेको भन्दै दमक ५ गोर्खाली टोलमा रहेको हिमालय बेकरी उध्योगलाई तत्काल उत्पादनमा रोक लगाइएको छ ।
बिहान ११ बजेपछि गरिएको आकस्मिक अनुगमनका क्रममा बेकरी आइटम उत्पादन तथा बिक्रीवितरण गर्दै आएको दमक ५ गोर्खाली टोलस्थित सो बेकरी उद्योगले मापदण्ड उल्लंघन गरेको तथा सरसफाइमा लापरबाही गरेको पाइएकाले त्यहाँ उपलब्ध खाध्यन्न सामग्री जफत गरि नस्ट गरिएको अनुगमन संयोजक समेत रहेकी दमक नगर उप प्रमुख रेगिना भट्टराईले जानकारी दिईन् । उक्त उद्योगमा पाउरोटीमा लगाईने क्रिममा फोहर भेटिएको थियो भने क्रिम रोल बनाउने उपकरणमा खिया लागेर फोहर र दुर्गन्धित बनेको थियो । ती बरामद अखाद्य सामाग्रीहरु आजनै नष्ट गरिएको थियो ।
त्यसैगरी दमक ५ स्थित संगम स्वीटसको पनि अनुगमन गरिएको थियो । अनुगमनका क्रममा संगममा सरसफाईमा ध्यान दिन सुझाव दिईएको थियो । त्यस्तै, दमक ५ कै गोरखा किचन, थकाली किचन र मम हबमा शाकाहारी र माङ्सहारी आइटम एकै भाडोमा पकाउने र राख्ने गरेको पाइएकाले सचेत गराएर छाडिएको छ । अनुगमन टोलीमा इलाका प्रशासन कार्यलय दमकका प्रमुख महेश्वर तिम्सीना, खाध्य गुण तथा नापतौल डिभिजन कार्यलय भद्रपुरका प्रतिनिधि, इलाका प्रहरी कार्यालय दमकका प्रतिनिधि, आन्तरिक राजश्व कार्यालय दमकका प्रतिनिधि लगायत सहभागी थिए ।