
दमक,१६ असोज । दमक -२ स्थित हिमालय माध्यमिक विद्यालयमा भएको करोडौं रकम हिनामिना घटनामा जनप्रतिनिधिहरुको समेत संलग्नता भएको भन्दै नेपाली कांग्रेसले त्यसको सत्य तथ्य छानविन गरी दोषीउपर कानुनी कारवाही गर्न माग गरेको छ ।
शुक्रबार पार्टी नगर सभापति प्रकास प्रसाईं र सचिवद्वय रामचन्द्र अधिकारी र दिपेश दाहालद्वारा जारी विज्ञप्तिमा स्थानीय सरकारले अबैधानिक रुपमा गठन गरेको कथित बिद्यालय ब्यवस्थापन समिति समेतको संलग्नतामानै हिमावि भ्रष्टाचार काण्ड भएको जनाईएको छ ।
शिक्षा जस्तो संवेदनशिल क्षेत्रमा राजनीतिक हस्तक्षेप गर्न हुँदैन र त्यहिँ अध्ययनरत बिद्यार्थीहरुका वास्तविक अभिभावकहरुलेनै बिद्यालयको नेतृत्व र रेखदेख गर्नु पर्छ भनि कांग्रेसले पटक पटक आग्रह गरे पनि स्थानीय सरकारले बिद्यालयलाई आप्mना कार्यकर्ता भर्ति केन्द्र बनाउनुको नियत आज आएर छर्लङ्ग भएको विज्ञप्तिमार्फत आरोप लगाईएको छ । कांग्रेसले कांग्रेसले नेकपा एमाले नेतृत्वको स्थानीय सरकार दमकका सामुदायिक बिद्यालयहरु तहस नहस पार्न योजनाबद्ध रुपमा लागेको आरोप समेत लगाएको छ ।
वडाध्यक्ष प्रजापति सापकोटाको नेतृत्वमा बनाईएको अहिलेको बिद्यालय व्यवस्थापन समितिकै प्रत्यक्ष संलग्नतामा भ्रष्टाचार भएको र यसको जिम्मेवारी नगरको शिक्षा समितिले लिनु पर्ने पनि कांग्रेसले जिकिर गरेको छ । बिद्यालयका कर्मचारीलाई मात्र नभएर व्यवस्थापन समितिका पदाधिकारीहरुलाई समेत कारबाही गर्न कांग्रेसले माग राखेको छ ।
यस्तै उसले दमकको स्थानीय नेतृत्व शिक्षा, स्वास्थ्य जस्ता नागरिकका प्रत्यक्ष सरोकारका बिषय अस्तव्यस्त बनाउन लागेको आरोप समेत लगाएको छ ।
यसैगरि कांग्रेसले संघीय सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बिमाको उपचार सेवा दमकमा प्रभावकारी वन्न नसकेको औल्याएको छ । बिमाका लागि दमक अस्पताल मात्र प्रथम बिन्दु तोकिँदा र बिमा कार्यक्रम सञ्चालन गरिआएका दमकका अन्य अस्पतालहरुलाई बिमाका बिरामीको रेफर नदिँदा नागरिकहरुले सेवा लिन सास्ती भोग्दै आएको पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।