लोप वन्दै सन्थालको ‘दशाएँ एनेका’

झापा, १६ असोजमा । दसैंले देशभर रौनकता छरिरहेको छ । पूर्वी नेपालका झापा, मोरङ र सुनसरीका गाउँ–टोलमा भने फरक किसिमको उल्लास झल्किएको छ । गाउँका चोक, बजार, टोल र सहरका गल्लीमा तुम्दाको ताल, ड्रमको धुन र राहाडको आवाज घन्किरहेका छन् ।

बालकदेखि वृद्धसम्म खुट्टामा घुँघरुको झंकार भर्न, शरीरमा साइकिल गन्जी र पन्चीको सजावटसहित नाचिरहेका छन् । यो साधारण नाच मात्र होइन, यो हो सन्थाल समुदायको जातीय नाच ‘दशाएँ एनेका’। जसलाई उनीहरूले आफ्नो संस्कृतिको अविभाज्य पहिचानका रूपमा निरन्तरता दिइरहेका छन् ।
सन्थाल समुदाय नेपालका लोपोन्मुख आदिवासी जातिहरूमध्ये एक हो । करिब ५१ हजारको हाराहारी संख्यामा रहेका उनीहरू मुख्यतः झापा, मोरङ र सुनसरीमा बसोबास गर्छन् । पछिल्ला केही वर्षयता रोजगारी र जीविकोपार्जनको समस्याका कारण पलायन बढ्दै गएको छ। उनीहरूको पलायनसँगै मौलिक कला र संस्कृति समेत लोप हुँदै गएको सन्थाल समुदायका अगुवाहरूको भनाइ छ ।

‘पलायनका कारण हाम्रो कला र संस्कृति मासिने अवस्थामा पुगेका छन्,’ सन्थाल अगुवा सिक्रीलाल मुर्मु बताउँछन् । सन्थालहरूको यो उत्सव दसैंको पञ्चमीदेखि पूर्णिमासम्म धुमधामका साथ चल्छ । यो अवधिमा उनीहरू समूह–समूहमा नाचगान गर्दै गाउँ, टोल र सहर छिर्छन् । परम्परागत वाद्यवादनको तालमा नाच्दै, गाउने भाकाहरू गाउँदै उनीहरूले मनोरञ्जन मात्र प्रदान गर्दैनन्, आफ्नो अस्तित्वको परिचय पनि दिन्छन् । खासगरी दशमीदेखि पूर्णिमासम्मको रात उनीहरूको सामूहिक उल्लासले गाउँभरि उत्सवमय वातावरण सिर्जना गर्छ ।
झापाको कनकाई, गौरादह, कमल, गौरीगञ्ज, गरामनीजस्ता क्षेत्रमा सन्थालहरूको बाक्लो बसोबास छ । मोरङ र सुनसरीमा समेत उनीहरूको उपस्थिति छ । दशै भरि पूर्वका एक दर्जन बढी स्थानमा लाग्दैआएको संस्कृतिमूलक मेलामा सन्थाल समुदायले यो नृत्य देखाएर मनोरञ्जन प्रदान गरिआएको कमल -५ मंगलवारे वजारस्थित सगुन युवा क्लवका अध्यक्ष देवी आङदेम्बे बताउँछन् । मंगलवारे वजारमा टिकाको भोलिपल्ट एकादशी मेला लाग्दैआएको छ । सन्थालको नृत्य नै प्रमुख आर्कषण रहने एकादशी मेलामा छिमेकी पालिकाहरुदेखि भारतसम्मका नृत्य टोलीले सहभागिता जनाउने अध्यक्ष आङदेम्बेले बताए ।

सन्थालहरूको नृत्मा गीतसँगै जीवन दर्शन पनि लुकेको हुन्छ । प्रकृतिसँगको प्रेम, पीडा, खुशी र संघर्ष सबै विषय उनीहरूको भाकामा सुन्न सकिन्छ । मातृभाषामा गाइने यी भाकाहरूले नयाँ पुस्तालाई पनि आफ्नो पहिचान सम्झाउने काम गर्छ ।
एक जना युवा बाबुलाल हाँस्दै भन्छन्, ‘हामीलाई हाम्रो संस्कृति र कलाप्रति गर्व छ।’ यद्यपि, आधुनिकताले ल्याएको चुनौतीलाई नकार्न सकिँदैन । धेरैजसो सन्थाल युवा रोजगारीका लागि विदेशिने क्रममा छन् । गाउँमा बस्नेहरूको संख्या घट्दै जाँदा परम्परागत संस्कृतिले निरन्तरता पाउन मुस्किल हुने खतरा बढेको छ । त्यसैले समुदायका अगुवा, स्थानीय संघसंस्था र विभिन्न निकायले विभिन्न कार्यक्रममार्फत यसलाई बचाउने प्रयास थालेका छन्।
आजभोलि ‘दशाएँ एनेका’ सन्थाल बस्तीभित्र मात्रै सीमित छैन । सहरका उत्सव, मेला र कार्यक्रममा समेत यो नृत्यको माग बढ्दो छ । यसले सन्थाललाई मात्र होइन, सम्पूर्ण समाजलाई सांस्कृतिक विविधताको महत्वबोध गराइरहेको सन्थाल अगुवा तथा संविधानसभा सदस्य मोहन टुडु बताउँछन् ।‘दसैंको माहोलमा जब तुम्दाको ताल गुञ्जिन्छ र घुँघरुको झंकारसँगै रंगीन नर्तकहरू सडकमा देखिन्छन्, त्यो सन्थाल समुदायको पहिचान, अस्तित्व र गर्वको अभिव्यक्ति हो भन्ने लाग्छ,’ संविधानसभा सदस्य टुडु भन्छन् ।

Leave a Reply

Your email address will not be published.