असोज २० मा कांग्रेसको झापा जिल्ला सम्मेलन

बिर्तामोड,१४ असोज । नेपाली कांग्रेस झापाको आगामी असोज २० गते जिल्ला सम्मेलन हुने भएको छ । बिर्तामोडस्थित कांग्रेस जिल्ला पार्टी कार्यालयमा आज सम्पन्न कार्यसमिति बैठकले सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको सचिव कृष्ण हुमागाइले जानकारी दिए ।
कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकले पार्टीका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री उमाकान्त चौधरी र भिष्मराज आङ्देम्बे, कोशी प्रदेश सभापति एवं पूर्व मुख्यमन्त्री उद्वव थापालगायतको आतिथ्यमा जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो । जिल्ला सम्मेलन विर्तामोडस्थित पाथीभरा सिने प्लाजामा दिनको ११ बजेदेखि आयोजना हुनेछ ।
बैठकमा पार्टी सचिव कृष्ण हुमागाईले प्रस्तुत गरेको जिल्ला सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक एवं भावी कार्यक्रम समेटिएको प्रतिवेदनलाई संसोधनसहित पारित भएको छ । त्यसैगरी चाडबाडको मुखमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र एल.पी. ग्यासमा गरेको मूल्यबृद्धि तत्काल फिर्ता लिन पनि बैठकले माग गरेको छ ।
बैठकले नेपाल मुस्लिम संघको तेस्रो महाधिवेशनबाट केन्द्रीय पदाधिकारी र सदस्यमा झापाबाट निर्वाचित सबैलाई हार्दिक बधाई ज्ञापन गरेको छ । बैठकमा सहभागीहरुले उठाएका जिज्ञासा र प्रश्नहरुको जवाफ सभापति देउकुमार थेवे र उपसभापति केशवराज पाण्डेले जवाफ दिएका थिए भने कोषाध्यक्ष जलकुमार गुरुङले आर्थिक योजनाका विषयमा जानकारी गराएका थिए ।

 

Leave a Reply

Your email address will not be published.