दमक, १५ असोज । झापाको कमल गाउँपालिका- ५ मंगलवारे वजारमा यसवर्ष पनि एकादशी सांस्कृतिक मेला भव्य रुपले लाग्ने भएको छ । टिकाको भोलिपल्ट एकादशीका दिन बर्षोदेखि लाग्दैआएको सांस्कृतिक मेला यसवर्ष भव्य रुपले लाग्ने भएको हो । मेला व्यवस्थित रुपले सम्पन्न गर्न आयोजक सगुन युवा क्लवले आवश्यक तयारी तीव्र पारिएको क्लवका अध्यक्ष देवी आङदेम्बेले जानकारी दिए । मेलामा सन्थाल नृत्यवाहेक विभिन्न मनोरञ्नात्मक खेल, खाद्यान्न, लत्ताकपडा व्यापार रहने छन् । मेलाको तयारी स्वरुप प्रवेशद्धार तथा वजार भित्र लिंगे पिंग राखिएको छ ।
उनका अनुसार अघिल्ला बर्ष कोभिडका जोखिमका कारण मेला प्रभावित भएको र यसवर्ष जोखिम केहि कमी भएसंगै मेला भव्य रुपले लाग्ने अनुमान गरिएको छ । यसैवीच, क्लवले मेला व्यवस्थित रुपमा सम्पन्न गर्न क्लवसहित मंगलवारे वजार समिति, टोल समिति, कृतन मण्डली, आमा समूह लगायतका सरोकारवाला पक्षहरुवीच छलफल गरिएको छ ।
मेलामा लोपोन्मुख सन्थाल समुदायको सांस्कृतिक नृत्य प्रमुख आर्कषण रहने गरेको क्लवका सचिव रोशन दाहालले बताए । आयोजक क्लवले यसवर्ष पनि प्रतियोगितात्मक सन्थाल नृत्यको प्रस्तुति रहने जनाएको छ । प्रतियोगितावाहेक सन्थालका नृत्य टोलीको समेत मनोरञ्जनात्मक प्रस्तुति समेत रहने उनले जनाएका छन् । प्रतियोगितामा उत्कृष्ठ हुने समूहलाई यसवर्ष संगीत सामाग्री ढोलसहित नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
मंगलवारेका समाजसेवी समेत अगुवा ललितकुमार राईले यहाँ लाग्दै आएको एकादशी मेला बर्षो पूराना मेला भएको बताउँछन् ।दशैका अवसरमा टिकाका दिन कमलकै पाडाजुंगीमा ,गौरादहमा ,गौरीगन्जमा समेत मेला लाग्दैआएका छन् ।
सुरुङ्गामा वृहत सन्थाल मेला
वडादशैंको अवसरमा कनकाई मावि सुरुङ्गाको खेलमैदानमा वृहत कनकाई सन्थाल मेला हुने भएको छ ।कनकाई खेलकुद प्रतिष्ठान (कासा )ले यही फूलपातीका दिन आइतवार प्रतियोगितात्मक सन्थाल नृत्यसहित सन्थाल मेलाको आयोजना गर्ने भएको प्रतिष्ठानका अध्यक्ष छबि थपलियाले बताए । सन्थाल नृत्यमा झापा तथा मोरङका १८ वटा टिमको सहभागिता रहने छ ।
लोप हुन लागेको सन्थाल नृत्यको जगेर्ना र प्रबद्र्धन गर्ने मूल उद्देश्यसहित सन्थाल मेलाको आयोजना गरिएको कासाका संस्थापक अध्यक्ष ज्योतिकुमार उप्रेतीले जानकारी दिए । मेला सम्पन्न गर्न सवा तीन लाख रुपैयाँ लागत अनुमान गरिएको छ । यसका लागि कनकाई नगरपालिकाबाट नगद १ लाख रुपैँया सहयोग प्राप्त भएको छ भने कनकाई नगरपालिकाका ९ वटै वार्डबाट २० र २० हजार रुपैयाँ आर्थिक सहयोग समेत प्राप्त भएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद ३१ हजार, दोस्रो पुरस्कार २५ हजार, तेस्रो पुरस्कार २१ हजार, चौथो पुरस्कार १८ हजार, पाचौं पुरस्कार नगद १५ हजार रुपैँया पाउने छन् भने सान्त्वना पुरस्कार नगद १० हजार रुपैयाँ रहेको छ ।