बाढीपहिरोमा परी १९२ जनाको मृत्यु

झापा,१४ असोज । बाढीपहिरो र डुबानमा परी सोमबार बिहानसम्म १९२ जनाको मृत्यु भएको छ।पछिल्लो तीन दिनमा विपद्मा १९२ ज्यानको गएको विवरण प्राप्त भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए। उनका अनुसार, अझै ३० जना हराइरहेका छन्।

त्यस्तै, बाढीपहिरोमा परी १९४ जना घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको प्रवक्ता तिवारीले बताए। बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित गरिएको छ। अहिलेसम्म चार हजार ५०० भन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले बताए।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ।

यससँगै यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए। बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्ग भएका छन्।

 ज्यान गुमाएकाका परिवारलाई १ लाख राहत 

कोशी प्रदेश सरकारले वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरूको परिवारलाई जनही १ लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पहलमा आइतबार बसेको प्रदेश विपद् कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेश सरकारले पूर्ण क्षति भएका घरहरूको लागि ५० हजार, आंशिक क्षति भएका घरहरूको लागि ३० हजार र सामान्य क्षति भएका घरहरूका लागि १५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ ।
प्रदेश विपद् कार्यकारी समितिका संयोजक एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लिलावल्लभ अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रशासन कार्यालयको सिफारिस बमोजिम राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
तीन दिनदेखि परेको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १८ जनाको मृत्यु भएको छ भने ७ जना अझै बेपत्ता छन् । पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा २ र इलाममा १ जना जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परेर पाँचथरमा ५, मोरङमा १ र झापामा १ बेपत्ता छन् । यस्तै बाढी पहिरोबाट ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छ भने ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

Leave a Reply

Your email address will not be published.