गौरीगञ्ज,१४ असोज । बिजयादशमी, शुभ दिपावली र छठ पर्वको समेत अवसर पारेर झापाको गौरीगञ्ज गाउँपालिकाले आज शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ ।नेपाल रेडक्रस सोसाईटी गौरीगञ्ज शाखाको समेत समन्वयमा सम्पन्न सो कार्यक्रममा प्रबल जनसेवाश्री पदकबाट बिभुषित नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष तथा सामाजिक अभियान्ता लोकराज ढकाललाई सम्मान समेत गरिएको छ ।
गाउँपालिका अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने कुँवर र प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले ढकाललाई खादा ओढाएर सम्मान गरे ।
कार्यक्रममा अध्यक्ष राजवंशीले नयाँ जनप्रतिनिधि आएको दुई महिना भित्रैमा प्राथमिक स्वास्थ्य केन्द्र गौरीगञ्जलाई आधारभुत अस्पतालको रूपमा स्थापना गरिएको, भिडियो एक्सरे सहित १ करोड रूपैयाँ भन्दा वढीको स्वास्थ्य सामाग्रीहरू प्राप्त गरिएको, वडा नं २ स्थित टटुवामारीको सिमसार क्षेत्रमा संघीय सरकारको ३ करोड ५० लाख र गाउँपालिकाको १ करोड ५० लाख रूपैयाँको लागतमा निर्माण भईरहेको, करिब ८ सय ३५ जना सुकुम्बासी परिवारलाई प्रथम चरणको जग्गाको निस्सा प्रदान गरिएको लगायतका कामहरु भएको चर्चा गरिन । उनले गाउँपालिकाले विभिन्न योजनाहरूको ठेक्का टेण्डर आव्हाान गरि निर्माण प्रक्रिया अघि बढाईरहेको पनि उल्लेख गरिन ।
ढल निकाससहितका स्तरीय सडक निर्माण गाउँपालिकाको प्राथमिकतामा रहेको पनि उनले उल्लेख गरिन । अनुदान तथा साझेदारीमा मोटर, पम्प सेट वितरण गर्नुका साथै विजुली पोल र तारहरू विभिन्न वडाहरूमा जडान गरिएको फेहरिस्त पनि अध्यक्ष राजवंशीले प्रस्तुत गरिन ।
उनले सामुदयिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का करिब ३ सय भन्दा बढी विद्यार्थीलाई निशुल्क पढाउने कार्यपालिकाको पहिलो वैठकबाट निर्णय गरेको स्मरण गर्दै सर्पले डसेका विरामीलाई अस्पतालसम्म लाने खर्च गाउँपालिकाले नै व्योहोरिरहेको पनि जानकारी दिइन । गाउँपालिकाको विकास, उन्नति र प्रगतिको लागि सबैको साथ र सहयोगको खाँचो समेत औंल्याइन ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुजन न्यौपानेले गाउँपालिका आम गौरीगञ्जवासीका लागि सधै चिन्तित रहेको बताउँदै गाउँपालिकाले छोटो अवधिमै धेरै कामहरू गरेको बताईन् । न्याय सम्पादनदेखि विकास निर्माणका कार्यहरूमा जति काम हुनु पर्ने त्यति हुन नसकेको भएपनि हालसम्म भएको कार्यहरू आमनागरिकको पक्षमा भएको उपाध्यक्ष न्यौपानेले बताईन् ।
कार्यक्रममा वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी, उद्योग वाणिज्य संघ गौरीगञ्जका अध्यक्ष मखना महतो, नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष गोविन्द कुँवर, सम्मानित व्यक्तित्व नेपाल रेडक्रस सोसाईटीका झापा अध्यक्ष ढकाल लगायतले आ–शुभकामना मन्तव्य राखेका थिए ।