दमक, १४ असोज । दमक १० स्थित नगर स्वास्थ्य केन्द्रमा आज शुक्रबार बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सकहरुले विशेषज्ञ सेवा प्रदान गरेका छन् ।यहि असोज पहिलो र दोस्रो साता संकलन गरेको मुटु, मृगौला, मधुमेह र उच्च रक्तचाप परीक्षणका लागि संकलन गरिएको नमुना परीक्षणको रिपोर्टका अधारमा सम्बन्धित विषयका विशेषज्ञ डाक्टरहरुले निशुल्क परामर्श सेवा प्रदान गरेका हुन् । प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डाक्टर सञ्जिव शर्मा नेतृत्वको चिकित्सकहरुको टोलीले स्थानीय सेवाग्रहीहरुसंग प्रत्यक्ष परामर्श गरेका छन् । स्वास्थ्य सचेतनाको नहुदाँ ग्रामीण क्षेत्रमा लुकेर रहेका जटिल रोगको पहिचानगरी सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी झापा शाखाका सदस्य लिला गुरागाईले जानकारी दिए ।
तीन दिन सम्म सञ्चालन गरिएको सो कार्यक्रम अन्तरगत दमक १० का ४ सय १० जनाको रगत र पिसाबको नमुना संकलन गरिएको नगर स्वास्थ्य केन्द्रले जनाएको छ ।
दमक नगपालिकाको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको आयोजना तथा बिपि प्रतिष्ठानको (केएचडिसी )को प्राबिधिक सहयोगमा सो स्वास्थ्य कार्यक्रम सञ्चालन हुदैआएको छ ।