दमकको हिमाविमा करोडभन्दा बढी हिनामिना ,असुल उपर गर्न निर्देशन

दमक,१४ असोज । जिल्लाकै उत्कृष्ठ रहेको दमकको एक सामुदायिक विद्यालयमा लाखौ रुपैया हिनामिना भएको खुल्न आएको छ ।दमक– २ को नमुना विद्यालय मानिने हिमालय माध्यमिक विद्यालयमा हालै मात्र एक करोडभन्दा बढी रकम हिनामिना भएको घटना बाहिर आएको छ । विद्यालयका प्रधानाध्यापक ओमप्रसाद आचार्य र लेखापाल दयासागर आचार्यको मिलेमतोमा विद्यालयका यतिका रकम हिनामिना गरेको विद्यालयले निकालेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
सामुदायिक विद्यालयमा आर्थिक कारोबार प्रधानाध्यापक र लेखापालले सञ्चालन गर्छन् । विद्यालयको हरहिसाव प्रधानाध्यापक आचार्य र लेखापाल आचार्यले गर्ने गर्छन् ।

नाम किटान नगरे पनि आर्थिक वर्ष ०७७-७८ मा विद्यार्थीबाट विभिन्न नाममा लिइएको शुल्कको रकम प्रधानाध्यापक र लेखापालको मिलेमतोमा हिनामिना भएको लेखा सुपरिवेक्षण समितिको संकेत छ । विद्यालयमा करिब तीन हजार पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् ।

स्रोतका अनुसार उनीहरुले एक करोड १४ लाख ७४ हजार आठ सय पाँच रुपैयाँ हिनामिना गरेको आन्तरिक छानबिनमा भेटिएको छ । विद्यालय व्यवस्थापन समितिले आन्तरिक लेखा अनुसन्धानका लागि ३१ भदौमा विद्यालयका शिक्षक कृष्णप्रसाद बरालको संयोजकत्वमा पाँच सदस्यीय लेखा सुपरिवेक्षण समिति बनाएको थियो ।
समितिले गत आर्थिक वर्षमा रकम हिनामिना गरेको निष्कर्षसहित बुधबार विद्यालय व्यवस्थापन समितिलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा विभिन्न मितिमा आम्दानी नै गायब बनाएर अर्थात् विद्यालयले चलाउँदै आएको सफ्टवेयर नै गायब बनाएर ७१ लाख ८४ हजार सात सय ५० रुपैयाँ अनियमितता गरिएको उल्लेख छ । यस्तै, छानबिनमा विद्यालयको आम्दानी देखाए पनि ४२ लाख ९० हजार ५५ रुपैयाँ बैंकमा जम्मा नगरी हिनामिना गरेको प्रतिवेदनमा छ ।
उक्त जिम्मेवार पदाधिकारीबाट असुुलउपर गर्नुपर्ने निष्कर्ष समितिको छ । यस्तै, दश लाख ६५ हजार एक सय २१ रुपैयाँको पनि खर्च पुष्टि नभएकाले असुलउपर गर्नुपर्ने प्रतिवेदनमा छ । चालू आर्थिक वर्षको साउन, भदौ र १० असोजसम्मको आम्दानी रकम १९ लाख २८ हजार पाँच सय रुपैयाँ पनि हालसम्म विद्यालयको खातामा जम्मा नभएको प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमै स्रोत नखुलेको ६९ लाख ४० हजार रकम विद्यालयको खातामा जम्मा भएको पाइएको छ । ०७७ साउनमा पाँच लाख ९० हजार, असोजमा ६३ लाख ५० हजार रकम स्रोतविनै बैंकमा दाखिला भएको प्रतिवेदनमा छ।

‘नगद अपचलन र अव्यावहारिक खर्चमा प्रत्यक्ष संलग्न व्यक्तिलाई आवश्यक कारबाही गर्नुपर्ने देखिन्छ,’ प्रतिवेदनमा छ । विद्यालयले अघिल्लो मितिमा भुक्तानी गरेको कर्मचारीको तलब पनि पुनः भुक्तानी गरेर हिनामिना गर्न खोजेको भेटिएको छ ।

लेखापाल आचार्यले यसमा आफ्नो मात्र जिम्मेवारी नरहेको बताए । ‘मेरो मात्र जिम्मेवारी पनि होइन हेडसर, सहायक हेडसर, सहायक लेखापालहरू पनि छन् । कसले कति हिसाब निकाल्यो मलाई थाहा छैन,’ उनले भने, ‘अहिले आम्दानी मात्र देखाएर बोलिएको छ । सफ्टवेयरको गडबडीले तलमाथि भएको होला । सफ्टवेयर डिलिट गरिएको होइन । आन्तरिक षड्यन्त्र भएको छ ।’

प्रधानाध्यापक आचार्यले पनि रकम जम्मा हुने क्रममा रहेको बताए । ‘पहिला आन्तरिक लेखापरीक्षण गथ्र्यौँ । विद्यालयमा ठूलो हिसाबकिताब हुन्छ । एकजनाले भ्याउँदिनँ भनेपछि हामीले पाँच सदस्यीय लेखा सुपरिवेक्षण समिति बनाएका छौँ,’ उनले भने, ‘कताकता प्रस्ट देखिएन भन्ने छ । रकम डिपोजिट हुने क्रममा छ । कतिपय खर्च भएको होला, त्यो हेर्न बाँकी छ । डिपोजिट नभई खर्च मात्र पनि हुन सक्छ ।’

दमक नगरपालिकाका नगप्रमुख रोमनाथ ओलीले अनियमितताको आशंकामा नगरपालिकाले नै विद्यालयमा छानबिन गराएको बताए । ‘अनियमितता भएर छानबिन गरिएको हो । यो सानो बदमासी होइन । यसलाई त्यसै छाडिँदैन,’ मेयर ओलीले भने, ‘हामी स्कुलको मात्र भर पर्दैनौँ । सबैतिरबाट अध्ययन गर्छौँ । कानुनी कारबाही पनि गर्छौँ । पैसा जम्मा गरेर मात्र उन्मुक्ति पाउँदैन ।’

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तीर्थराज बस्नेतले आर्थिक चलखेलमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडाध्यक्ष प्रजापति सापकोटा, प्रअ आचार्य र लेखापाल आचार्यको संलग्नता रहेकाले तत्काल राजीनामा दिनुपर्ने बताए । ‘अध्यक्षले गत वर्ष अनुमोदन गरेका छन् । उनले पनि जिम्मेवारी लिनुपर्छ । प्रधानाध्यापक एक नम्बर दोषी हो । दोस्रो लेखापाल पनि हो,’ उनले भने, ‘सामुदायिक विद्यालयमा गरिबका छोराछोरीबाट पैसा उठाउने अनि हिनामिना गर्ने ? उनीहरूले राजीनामा दिनुपर्छ ।’

विद्यालयको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन भन्छ
-आर्थिक वर्ष ०७७र७८ मा एक करोड १४ लाख ७४ हजार आठ सय पाँच रुपैयाँ हिनामिना
– सफ्टवेयर नै गायब बनाएर ७१ लाख ८४ हजार सात सय ५० रुपैयाँ अनियमितता
-विद्यालयको आम्दानी देखाए पनि ४२ लाख ९० हजार ५५ रुपैयाँ बैंकमा जम्मा भएन
– गत आर्थिक वर्षमै स्रोत नखुलेको ६९ लाख ४० हजार रकम विद्यालयको खातामा जम्मा
-दश लाख ६५ हजार एक सय २१ रुपैयाँको खर्च पुष्टि नभएकाले असुलउपर गर्नुपर्ने
– चालू आर्थिक वर्षको साउन, भदौ र १० असोजसम्मको आम्दानी रकम १९ लाख २८ हजार पाँच सय रुपैयाँ पनि हालसम्म विद्यालयको खातामा जम्मा भएन

झापाका तीन विद्यालय पुनः बन्द

बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन् ।

बन्द भएका सामुदायिक विद्यालय बुद्धआदर्श मावि, राष्ट्रिय विजय मावि र श्री बर्ने मावि रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौलाले जानकारी दिए ।

उनले बुद्धआदर्शका शिक्षकलाई कोरोना पोजेटिभ देखिएको र अन्य दुई विद्यालयका विद्यार्थीमा खोकी लाग्ने ज्वरो आउने समस्या देखिएका कारण बन्द गरिएको बताए । यही असोज ४ गतेदेखि मात्र विद्यार्थीको भौतिक उपस्थितिमा पालिकाका १६ सामुदायिक विद्यालय, १७ निजी विद्यालय र एउटा धार्मिक विद्यालयमा पठनपाठन सुरु गरिएको थियो ।

विद्यालय खोलिएको एक हप्ताभित्रमै ज्वरो आउने र खोकी लाग्ने विद्यार्थीको सङ्ख्या बढ्न थालेपछि पालिकाको शिक्षा शाखा तथा विद्यालय व्यवस्थापन समितिसँगको समन्वयमा बुधबारदेखि पठनपाठन बन्द गरिएको बर्ने माविका प्रधानाध्यापक चन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

बुद्धशान्ति–७ मा रहेको राष्ट्रिय विजय माविले समेत आजबाट भौतिक उपस्थितिको पठनपाठन बन्द गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पौडेलले बताए ।

जिल्ला प्रशासन कार्यालयबाट गत भदौमा जारी गरिएको आदेशमा स्थानीय तहसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने अधिकार प्रत्यायोजन भएसँगै जिल्लाका अधिकांश स्थानीय तहका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.