
दमक,१३ असोज । दमक -६ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा बधाई शुभकामना कार्यक्रम सम्पन्न भएको छ । शिवसताक्षीको झिलझिलेस्थित वाटर किङडम पार्क परिसरमा आज एक कार्यक्रम गरि गत साता सम्पन्न संस्थाको १० औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट निर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहणसहित बधाई शुभकामना कार्यक्रम गरिएको हो । समितिको कार्यकाल ४ बर्षेको रहने छ ।
दमकमा मुख्य कार्यालय रही झिलझिले, विर्तामोड लगायतका ठाउँमा सेवा केन्द्रहरु सञ्चालनमा रहेको छ । संस्थाका अध्यक्ष पदम लिङदेन ( संकल्प) को अध्यक्षता र जिल्ला सहकारी संघ झापाका लेखा संयोजक समेत रहेका निर्वाचन संयोजक चुडामणी ओझाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मेहेरमान लिङदेन, संविधान सभा सदस्य विश्वदिप लिङदेन लगायतको विशेष आतिथ्य रहेको थियो । सो अवसरमा तत्कालिन सञ्चालक समिति, सेवा केन्द्र सञ्चालक समिति र कर्मचारीहरुलाई समेत खादा ओढाएर सम्मान समेत गरिएको थियो । संस्थाका व्यवस्थापक कुबेर तुम्बापोले त्यस अवसरमा संस्थाको साधारण सभा तथा निर्वाचन, भावी योजना र कार्यक्रमहरुको कार्यान्वयनका सन्दर्भमा समेत समिक्षा गरिएको बताए । संस्थाकी कोषाध्यक्ष फुलकुमारी आङदेम्बेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिलिप जवेगु लिम्बुले गरेका थिए । कार्यक्रममा सूर्यकिरण बचत तथा ऋण सहकारी संस्थाकी ओममाया आङदेम्बे, शिखा सहकारीका प्रितम लिङदेन लगायतको उपस्थिति रहेको थियो ।
सो संस्थाको नयाँ नेतृत्व चयनका लागि गत साता भएको निर्वाचनबाट अध्यक्षमा चौथो कार्यकालका लागि पुन लिङदेन र सचिवमा देशराज नेम्बाङ निर्वाचित भएका थिए । संस्थाका सञ्चालक समितिको अध्यक्ष र सचिव वाहेकका अन्य पदहरुमा भने यसअघि निर्विरोध निर्वाचित भएका थिए । सञ्चालक समिति उपाध्यक्षद्धय फूलकुमारी आङदेम्बे र दिलीप जवेगु, कोषाध्यक्षमा संगीता सेरेङ (इक्सा ) र सदस्यहरुमा गुमानसिंह सम्बाहाम्फे,कमला सुब्बा,मनकुमारी पन्दाक बेघा र खड्ग राई रहेका छन् । यस्तै, लिलाराज तुम्बापोको संयोजकत्वमा तीन सदस्यीय एक लेखा समिति पनि निर्विरोध निर्वाचित भएका हुन् । लेखा सदस्यद्धयमा बीरवहादुर लावती र शक्ति वहादुर साम्बा चुनिएका छन् ।