
दमक,१२ असोज । इलामको चुलाचुली गाउँपालिका वडा नंं १ हात्तिलेदास्थित सरकारी कार्यालयमा नेपाली भाषाका साथै किराँत श्रीजंघा लिपी लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याइने भएको छ ।
वडा कार्यालयले सोमबारदेखि औपचारीक रुपमा घोषणा सभामार्फत उक्त लिम्बु भाषा प्रचलनमा ल्याएको वडाध्यक्ष पूर्ण लावतीले बताए । लिम्बू बाहुल बसोबास रहेको सो वडाले वडा भित्रका सरकारी कार्यालयमा सरकारी कामकाजी भाषा रुपमा राखिने उनले बताए ।
लिम्बु भाषा सरकारी कामकाजको भाषाको रूपमा प्रयोगमा ल्याउने काम चुलाचुली गाउँपालिकाको हकमा भने यो पहिलो भएको गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले जानकारी दिए ।
सो घोषणा कार्यक्रममा चुलाचुली गाउपालिकाकी उपाध्यक्ष निर्मला दाहाल, माङसेबुङ इलाम वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्र कुमार राई, चुलाचुली शिक्षा प्रमुख राम मिश्र, वडा नम्बर २ का अध्यक्ष रण बहादुर लिम्बू, श्रीजंगा लिपिका भाषाविद तथा साहित्यकार ज्ञानोदय लावतीलगायतको उपस्थिति रहेको थियो ।सोही अवसरमा वडा कार्यालयले कार्यालय सहयोगीद्धय पर्वत राई र बीना बस्नेतलाई सम्मान समेत गरेको थियो ।