दमक हस्पिटलका अध्यक्ष डा.भुसाल र सदस्य डा. गैरे विरुद्ध ठगी उजुरी

दमक,११ असोज । झापाको दमक ८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा आर्थिक अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा दुई जना सञ्चालक विरुद्ध ठगी सम्बन्धी उजुरी परेको छ ।
अर्घाखाँची स्थायी ठेगाना भएका प्रालिका अध्यक्ष डा. निराजन भुसाल र सञ्चालक डा.चन्द्रप्रकाश गैरेले कम्पनीको बैंक खातामा रहेको रकम अनियमित तवरले झिकेर अपचलन गरेको भनि अन्य सञ्चालक तथा लगानीकर्ताले प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल समक्ष आवश्यक कारवाहीका लागि उजुरी दिएका हुन् ।
उनीहरुले दिएको उजुरीमा दुवैको मिलेमतोमा विभिन्न व्यक्तिका नाममा कम्पनीको बैंक खाताबाट रकम निकालेर अपचलन गरेको दाबी गरेका छन् । सञ्चालक सदस्य मोतिलाल बरालसहित ९ जनाले दिएको सामूहिक उजुरीमा आरोपितद्धयले ३ करोड ४१ लाख रुपैयाँ अपचलन गरेको उल्लेख छ ।
आज विहान पीडितहरुले दमकमा पत्रकार सम्मेलन गरि सो प्रकरणमा आफूहरु ठगिएको घटना बाहिर ल्याएका हुन् ।पीडित भनिएका सञ्चालक मोति बरालले दमक ८ नम्बर वडा कार्यालयले बनाएको अस्पताल विवाद समाधान समितिले तयार पारेको प्रतिवेदनसहित प्रमुख जिल्ला अधिकारीलाई दिएको सो उजुरी जिल्ला प्रशासन कार्यालयमा मंगलबार दर्ता गरिएको बताएका छन् ।
उजुरीमा विभिन्न व्यक्तिहरुको सहमति बिनानै उनीहरुको नाममा पटक पटक बैंकबाट रकम झिकेको प्रमाण समेत संलग्न गरिएको छ ।
हस्पिटलका कार्यकारी निर्देशक तेराराज घिमिरेलाई समेत दबाबमा राखेर गैरे र भुसालले त्यस किसिमको अनियमित कृयाकलाप गरी ठगी धन्दा चलाएको पीडितहरुको उजुरीमा उल्लेख छ ।
कम्पनी नियम विपरित निजहरुले अन्य सञ्चालक तथा शेयर सदस्यहरुको उपस्थिती र बैठक बिनानै एक्लौटी रुपमा गएको भाद्र ६ गते आफना नाममा मात्रै शेयर कायम गरेको देखिएकाले किर्ते तथा जालसाँजी समेत गरेको आरोपितहरुको ठहर छ ।
यसअघि सो संस्थामा भएको समस्याका बिषयलाई लिएर निवेदन परेपछि विवाद समाधानका लागि दमकको ८ नम्बर वडा कार्यालयले पनि विवाद समाधान समिति बनाएको थियो । सो समितिले तयार पारेको प्रतिवेदन समेत वडा कार्यालयमा बुझाइएको समितिले जनाएको छ ।
आरोपित भुसाल र गैरे दुवै जना अर्घाखाँची स्थायी ठेगाना भएका व्यक्ति हुन् । ति मध्ये गैरे दमकमानै ऊँ शान्ति डेन्टल सञ्चालन गर्दै आएका छन् भने भुसाल बिराटनगरको एक अस्पतालमा कार्यरत रहेको बुझिएको छ ।
अस्पतालका सञ्चालक नारायण श्रेष्ठका अनुसार गैरेले स्वास्थ्य निकायको उपल्लो तह सम्म आफनो पहुँच रहेको बताउँदै स्वास्थ्य क्षेत्रका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी र कतिपय राजनीतिक , सामाजिक अगुवाहरुलाई समेत स्वास्थ्य क्षेत्रमा लगानी गर्न भन्ने गरेको र लगानी गरिएको पैसा आफूले अपचलन गर्ने गरेको बताइएको छ । लगानीकर्ता चिकित्सकहरुले आफूले लगानीको हर हिसाब मागेर पारदर्शी कारोबार गर्न माग गर्दा उल्टै धम्क्याउने गरेको पीडितहरुको भनाई छ । उनले कम्पनीमा लगानी गर्न भन्दै यहाँका प्रतिष्ठीत डाक्टर तथा स्वास्थ्य क्षेत्रका मानिसहरुसँग लाखौं रुपैयाँ लिएर शेयर कायम नगरि ठगी गर्ने गरेका पनि बताइएको छ ।
उजुरी गर्नेहरुमा बरालसहित सञ्चालक सदस्य नारायण श्रेष्ठ र हेमराज पोखरेल हुन भने डा. सञ्जय रिमाल, डा. प्रकाश शर्मा, डा. दिव्या तुलाचन, डा. नविन ढकाल र सुजन खरेल सो हस्पिटलका लगानीकर्ता हुन् । गैरेले अस्पतालका सञ्चालक डा. लगानीकर्ताहरुको सो समूहलाई गैरेले हस्पिटलमा लगानी गर्न आग्रह गर्दै पटक पटक झण्डै एक करोड ५० लाख रुपैयाँ लिएर शेयर कायम नगरी ठगी गरेको जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको उजुरीमा जनाईएको छ । डा. गैरले अस्पतालमा कार्यरत समेत रहेका सञ्चालक डा. सन्जय रिमाललाई सो विषयमा बढी बोलेको भन्दै उनी विरुद्ध कर छली गरेकोमा जिल्ला प्रशासन कार्यालयमा उल्टै उजुरी हालेका थिए ।
कूल ७५ लाख लगानी रहेको सो अस्पतालमा गैरे थप ७५ लाख रुपैयाँ लगानी गरेर आउन तयार भएपछि तत्कालिन शेयर होल्डरहरुले उनलाई स्वीकारेका थिए ।
काम डेन्टलमा तलब अस्पतालबाट
दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा हाल ५१ जना कर्मचारी भएको बुझिएको छ । ती मध्ये आधा बढी डा.सहित स्वास्थ्यकर्मीहरु छन्। त्यहाँपूर्ण रुपमा कुनै चिकित्सक सेवारत छैनन् । अस्पतालका अधिकांस चिकित्सकहरु अन्यत्रका अस्पताल ,स्वास्थ्यक क्षेत्रमा पनि काम गरिआएका छन् । त्यहाँका कर्मचारीले तीन महिनादेखि तलव पाएका छैनन् तर डेन्टलका खेताले कर्मचारीले भने खुलेमखुला तलव बुझदैआएका छन् ।
गैरेकै लगानीमा सञ्चालन हुदैआएको ओम शान्ति डेन्टलका कर्मचारीले पनि दमक हस्पिटलबाट नै तलव बुझिआएका छन् । काम डेन्टलमा सेवा,सुविधा भने दमक हस्पिटलबाट बुझदै आएको खुलेको हो । अस्पताल स्रोतका अनुसार डेन्टलमा कार्यरत गैरेका भाई डा. हेमराज गैरे, डेन्टलकी सरिता न्यौपाने र विराट टिचिङ्ग हस्पिटलमा कार्यरत डा. गैरेले नियम विपरीत त्यस अस्पतालबाट लामोसमयदेखि तलव लिदैआएका छन् ।  दुवै आरोपीले यस घोटला प्रकरण पछि सवै शेयर सदस्यलाई हटाएर दुई जना सञ्चालक मात्र रहेको भनी कम्पन्नीमा समेत एकलौटी कायम गरेको खुलेको छ । गत भदौ ६ गते अस्पताल सञ्चालक समितिमा डा. निराजन र डा. सिपी गैरे मात्र रहेको भनी कम्पन्नीमा अद्यावधि गरेका छन् । अस्पताल सञ्चालक समितिमा एकाएक उल्टापाल्टा भएपछि अस्पतालका सञ्चालकहरु अन्यौल भएका छन् ।
यसैवीच , दमक हस्पिटलकै अवधारणा अनुसार खुलेको निर्णायक ल्याव रिफरल सेन्टरमा पनि उनै गैरेले लाखौ रुपैया झवाम पारेको बुझिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published.