मोरङ, ११ असोज । ईलाका प्रहरी कार्यालय बेलवारीको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । मंगलवार एक कार्यक्रमकाबीच नवनिर्मित भवनको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बिधिवत उद्घाटन गरे ।
भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्दे मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र ब्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको बताए ।
भवन उद्घाटनमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले हरेक नागरिकको सुरक्षामा खटिने प्रहरी आफैमा असुरक्षित रहेमा आम नागरिकले सुरक्षाको प्रत्याभुति पाउन नसक्ने हुँदा प्रहरीको गाँस बास र कपासमा सरकारले बिशेष ध्यान दिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताए ।
नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित रकम २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैया २५ पैसाको लागतमा साँढे २ तले कार्यालय भवन निर्माण सम्पन भएको हो ।
कार्यालय भवन उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।